राष्ट्रपति पौडेलसँग बेलायती राजकुमारको भेट, जलवायु परिवर्तनका विषयमा छलफल

काठमाडौँ । बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनी श्रीमती डचेस सोफी नेपाल भ्रमण आएका छन् ।

उनीहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गरेका थिए । नेपाल आएलगत्तै उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

त्यसक्रममा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ’जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।

भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी

सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे  ।

राष्ट्रपति पौडेलले प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए । “ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याएको छ”, राष्ट्रपति पौडेलले भने ।

उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *