अन्तमा हुने रजनिकान्त र जेलेन्स्की नै हो

-डा. युवराज संग्रौला ।

मन्दिर र मठलाइ केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुँदैछ र रोटी सेक्नेको ताँती छ । कोही नेताको पत्तासाफ र कसैको उल्का उदय हुँदैछ । पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ। यस बारेमा दुईतर्फी तर्क छन् । यो विकासको कुरा हो गर्नुपर्छ, जेष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त हुन्छ भन्ने तर्क एकातिर छन् । यो मन्दिरको पर्यावरण बिगार्ने र राज्यको सम्पत्ति दोहन गर्ने उपाय हो भन्ने अर्कातिर छन् । हामीले बुझ्नुपर्ने के हो ?

१. पहिलो कुरा त राष्ट्रको कृषि र उद्योग नष्ट भइ सकेको अवस्था छ। १५ खर्बको आयत र ९४ प्रतिशत खपतको अवस्था छ भनी राष्ट्र बैंकले तंथ्यांक निकाल्छ। तर कृषिमा ठूल्ठूला फार्म बनाइ खाद्यान्नमा स्वनिर्भर हुने र औद्योगिक उत्पादनमा लगानी विस्तार गर्ने योजना सरकार ल्याउँदैन । हिजो कृषि औजारको उत्पादन, कपडा, जुत्ता, धागो, चिनी, कागज, टायर, साना मेसिन उत्पादनमा स्वनिर्भर बनाउने उद्योग समुल मासेर नवविकसित देश दक्षिण कोरिया, मलेसिया, इन्डोनेसियाले समेत बहिष्कार गरेको नवउदारवाद, अनैतिक खुला बजार र उपभोक्तावाद लादेर चरम वित्त पुँजीवाद राजनीतिक दलले लागू गरे । उनीहरुले उद्योगको सट्टामा क्यासिनो, पाँच तारे होटल, केवलकार, अग्ला अपार्टमेन्ट, जग्गा प्लटिङ्ग, टावर र गाउँमा पनि रिसोर्ट खोल्ने र बगस आइपिओ बेचेर नाफैं नभएका कम्पनीलाई नक्कली सेयर बेच्ने सेयरमार्केट विकास गरे । यो पैसाले पैसा कमाउने बबल इकोनोमी हो जसले थोरैलाई धनी र आमनागरिकलाई उपभोक्तामा परिणत गरि आयातलाई अधिक प्रबद्र्धन गर्दछ । यो राजनीतिक नेता र कर्मचारी धनी बनाउने नियोजित योजना थियो जसलाई विश्वमा आफ्नो सामारिक स्वार्थ भएका देशहरूले सहयोग गरे । यही नीति युरोप र रसियाको बीचमा भएको युक्रेनमा लागू गरिएको थियो । यही सामरि क नियतको प्रयोग नेपालमा गरिंदैछ। प्रमाणः उद्योग जिरो, कृषिको पतन, आयात १५ खर्ब र निर्यात १ खर्ब ५८ अर्ब, ७०० मिलियन डलरको ऋण र विदेशी सहायताको दुब्र्यसन, निजी सवारी साधनको खुला आयात र सार्वजनिक यातायातको उन्मूलन । यदि त्यसो हो भने सरकारको नीति उत्पादनमूलक उद्योग खोल्ने हुनुपर्ने हो कि पैसाले पैसा कमाउने केवलकार जस्ता संस्कृति सांस्कृतिक पर्यावरण मास्ने केवलकार ? यसले नाफा कति गर्छ र रोजगारी कति निर्माण गर्छ । अतः राज्यका वा जनताको सार्वजनिक जग्गा मासेर कुनै एक व्यक्तिलाई अकुत कमाउन दिने, उसैलाई करमा छुट दिने, उसैलाई संसदमा लैजाने र ९५% जनताको आयवृद्धि समाप्त गर्ने नीति समाजवाद हो ?

२. ५० लाख युवा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीका लागि विदेशिएका छन् । अब ३० वर्षमा नेपालको युवा जनशक्तिको मानवश्रोत समाप्त हुन्छ । अनि ती युवालाई देशमा रोजगार सिर्जना गर्ने उद्यमको विकासलाई प्राथमिकता दिनुपर्ने हो वा विदेशी सामान, मेसिन र प्रविधि प्रवद्र्धन गर्ने र एकाध व्यक्तिलाईमात्र रोजगारी र एक व्यक्तिलाई खर्बपती बनाउने उद्यम प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता ?

३. अतः यस्ता केवलकार सरकारको जनतालाई मन्दिर जान सहज बनाउने सामाजिक कल्याणको नीति अन्तर्गत बन्न लागेको हो वा यो कुनै धनाढ्यले धन कमाउनका लागि हो ? यो विकास हो भन्नेले यति त बुझे हुने हो ? त्यसो भए बिरोध गर्ने चैं संस्कृति जोगाउने पहिचानवादी वा पर्यावरणका हिमायती हुन् त ? यथार्थ के पनि हुन सक्छ भने लगानी गर्ने व्यापारीको लगानी भुस पार्न अर्को यस्तै व्यापारी पछाडि छैन र युवाहरुलाई भड् काउने काम भएको छैन भन्न पनि सकिन्न । के आन्दोलनकारीहरुलाई कसैले प्रयोग गरेको त छैन, यो आन्दोलनकारीले विश्लेषण गर्नुपर्ला । मेयर त गोली ठोक्ने कुरा गर्दैछन् । उनी पनि लिम्बू आन्दोलन गर्ने पनि लिम्बू । बीचमा गाली खाइरहेका छन् बाहुन र क्षत्री । अब सोच्नुहोस् त विभाजनकारी तत्व कसरी खेलिरहेको छ ?

४. कहिलेसम्म देश तोड्फोड र वितन्डाको शिकार बन्ने ? राजनीति र शासनका नाममा एकातिर देश अनैतिक बजारतन्त्रको बन्दी बनाइएको छ अर्कातिर घृणाको राजनीति मौलाएको छ । आज देशमा त्यस्तो नेताको भाउ छ जो राजनीतिका नाममा नीतिगत र लेनदेनको भ्रष्टाचार गर्न रतिभर डराउँदैन । अर्कोतिर विरोधी भनिएकाहरु समाजलाई गालीगलौज, घृणा र दुष्ट प्रतिक्रियावादी सोचको प्रतीक बनेका छन् । राजनीति एकातिर व्यापार बनेको छ अर्कोतिर चटक, सनक र सेलिब्रेटीको रङ्गमञ्च ।

५. पहिलो राजनीतिक धारमा विचारको हत्या गरिएको छ । त्यहाँ पद र सामन्ती हैसियतको ट्युमर वा गलगाँड मौलाएको छ । यो धारले पहिला बोकेको विचार गलत होइन त्यो विचार बोक्ने विचारही न भएको छ। यो पहिलो धारले अब देशलाई समृद्ध बनाउन सक्दैन । १२/१४ वर्षदेखि वैकल्पिकका नाममा दोस्रो धार मौलाएको छ । यसले त राजनीतिमा विचार होइन, अंग्रेजी बोल्ने, विदेश पढेको, विदेशबाट फर्केको, हिरो देखिने, सामाजिक संजालमा प्रोपोगान्डा र झुठ व्यापार गर्न माहिर हुने कलालाई राजनीतिको खास गुण मान्छ । त्यो त अन्तमा रजनिकान्त र जेलेन्स्की नै हुने हो । यो दोस्रो धार पनि निकम्मा नै हो ।

देशले अहिले खोजेको तेस्रो धार नेपालको शिक्षालाई अनुसन्धानमूलक र उत्पादनमूलक बनाउने योजना, मानिसलाई मृत्यु र पीडाबाट जोगाउने स्वास्थ्यमा राज्यको उतरदायित्व, सहज र सुरक्षित यातायात, डढेलो नलाग्ने हरियो, बाँदरले जंगलमै फलफुल खान पाउने जंगल, कन्चन खोला, मानिसले घरमै बसेर काम पाउने उद्यम भएको विकास, जातपातको भेदभाव सकिएको सामाजिक संरचना, विदेशीको हस्तक्षेप स्वीकार नगर्ने सरकार र नागरिकको प्रत्यक्ष सहभागिता भएको आफ्नै सभ्यतामा हुर्किएको सामाजिक नागरिकतन्त्रनै देशले खोजेको तेस्रो धार हो । जसले विचारमा आधारित राजनीतिक प्रणाली हुर्काउंँछ । अतः युवाहरुले घृणा, अफवाह र हिंसाको प्रवृत्तिबाट हटेर ‘जागरणको सद्भावयुक्त’ विमर्श खोज्नु आवश्यक छ । तब मात्र केवलकार पनि बन्छ र मन्दिरको अस्मिता र नागरिकको सांस्कृतिक पहिचान पनि कायम रहन्छ । अब देशले इतिहाससँग क्रमभंगता खोजेर दिशान्तर गर्नुपर्छ । भनिन्छ जब चुनौती खतरनाक हुन्छ त्यसपछि आउने व्यवस्था पनि पक्को र विवेकशील बन्छ ।

नोटः यस्ता परियोजनामा वस्तु आयात गर्दा मूल्य बढाइ विदेशी मुद्रा बाहिर लाने अर्को धन्दा छ भने पर्यटन सेवाका नाममा भन्सार छुट गराउने अर्को धन्दा यी व्यापारीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *