सहारा क्लबले सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान गर्ने

कास्की । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

क्लबका महासचिव रामजीप्रसाद अधिकारीले सनिशलाई नगद रू ५० हजार पाँच सय पाँच र सम्मानपत्र रहेको छ । तनहुँको पुर्कोटका सनिश विगत सात वर्षदेखि राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्दै आएका छन् ।

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत क्लबले बर्सेनी एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

सहारा क्लब पोखराको आयोजनामा २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप आजदेखि सुरु हुँदैछ । माघ २२ देखि फागुन ३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लब अध्यक्ष केशवराज बरालले बताए । उद्घाटन खेल आयोजक सहारा र नेपाल पुलिस क्लबबीचमा हुँदैछ । प्रतियोगिता उद्घाटन अवसरमा श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानद्वारा सम्मान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *