काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रकृयाअनुसार एकदिने सरकारी बिदा पर्याप्त नभएको बताएका छन् । सोनाम ल्होछारको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले साे कुरा बताएका हुन् ।
‘ल्होछार मनाउने सबै विधि र प्रकृयाअनुसार एकदिने सरकारी बिदा प्रयाप्त छैन,’ मुख्यमन्त्री लामाले भने, ‘ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घर घरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।’ उनले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रम भन्दा पनि घरभित्रको पर्वको रुपमा स्थापित गर्न समस्त तामाङ समुदायमा आह्वान गरे ।
मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्नका लागि बजेटको समेत व्यवस्था गरिएको जानकारी गराएका छन् ।
‘बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा गएको छ । सुझाव कार्यदलले पेस गरेको सुझाव क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने भनेर भर्खरै बसेको प्रदेश मन्त्रीपरिषदको बैठकबाट निर्णय समेत भएको छ । अब प्रदेशको सबै कार्यालयमा तामाङ भाषामा साइनबोर्ड लेखिनेछ । लेटरप्याड तामाङ र नेपाल भाषामा बन्नेछ,’ उनले भने, ‘संसदमा तामाङ भाषामा बोल्ने माननीयको लागि अनुवादकको व्यवस्था छिट्टै गरिने भएको छ । अब नेपाली र नेवारी भाषा मात्र जान्नेका लागि पनि प्रदेशबाट सेवा प्रभाव हुनेछ । भाषा ऐन कार्यान्वयनका लागि प्रदेश सरकारको बजेट र कार्यक्रमबाट पनि सम्बोधनको प्रयास गरेको छ । भाषा कार्यान्वयनका लागि नेपाल तामाङ घेदुङ र नेवाः देय् दबुसँग सहकार्यका लागि एक÷एक करोड बजेटको व्यवस्था भएको छ ।’
कार्यक्रममा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउन सबैले लामा र थरको साटो तामाङ लेख्नुपुर्न सुझाए । ‘१३ वटा जिल्लामा जनजाति ५६ प्रतिशत छन् । तामाङहरु ३३ प्रतिशत । हामी ४० प्रतिशत पुग्थ्यौं । नेताहरुले नै तामाङ लेखेनन् । तामाङहरु नेपाल अधिराज्यभरमा एक नम्बर जनजाति हुन सक्थ्यो । तर हामीले रुम्बा, मोक्तान, गोले लेख्दा त्यो अन्यमा गयो,’ उर्जा राज्यमन्त्री तामाङले भने । उनले बागमती प्रदेशका १३ जिल्लामध्ये ८ जिल्लाका नेपाली कांग्रेसका सभापतिमा तामाङ सभापति भएपनि आफूबाहेक अरु सबैको थर लामा रहेको बताए । त्यसैगरी उर्जाराज्यमन्त्री तामाङले तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङ एक हुनुपर्नेसमेत सुझाव दिए ।
कार्यक्रममा बाग्मती प्रदेशका पूर्व संस्कृति मन्त्री शैलेन्द्रमान बज्रचार्यलाई घेदुङले वर्ष व्यक्तिको रुपमा सम्मान गरेको थियो । बज्रचार्यककै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो ।
तामाङ भाषा कार्यान्वयनमा भने ढिलाई भइरहेको तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले गुनासो गरे । ‘नेवार समुदायको मन्त्रीले तामाङ भाषालाई प्रदेशको भाषा बनाउने काम गर्नुभयो । त्यसैले उहाँलाई हामीले वर्ष व्यक्तिका रुपमा घोषणा गर्यौ । अब यो कार्यान्वयनको जिम्मा तामाङ मुख्यमन्त्रीको काँधमा आएको छ,’ अध्यक्ष गोलेले भने, ‘तर ढिला भइरहेको छ कार्यान्वयनमा ।’
मुल आयोजक समारोहका संयोजकसमेत रहेका गोलेले काठमाडौंको बोझेनी प्रकरण र आशिका तामाङ पक्राउ प्रकरणबारेसमेत सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नेपाल सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिका सदस्य फूलमान वल, गायक मानबहादुर तामाङ, हिमाल आरोही सिद्धिबहादुर तामाङ, कराते खेलाडी सागर मोक्तान, सहायक महिला प्रशिक्षक सिता तामाङ र प्रदेश प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशका प्रमुख कार्यकारी निर्देशक डा शान्ति लामालाई सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमपछि टुँडिखेलमा चर्चित गायक गायिकाको प्रस्तुति जारी रहेको छ ।
ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको थियो । दोस्रो बुधबार टुँडिखेलमा तामाङ बोम्बोहरुद्धारा विशेष पुजापाठ, फापरे ह्वाई प्रस्तुत, घोडचढी र माने नाच सम्पन्न गरिएको थियो भने बुधबार ल्होछार इभ अर्थात डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षलाई बिदाई गरि नयाँ वर्षलाई स्वागत गरिएको थियो ।


