ऋषि कट्टेल ।
अचेल समाजवादी मोर्चाबारे निकै हल्लाखल्ला भइरहेको छ । सत्तापक्ष यसलाई सत्ताविरुद्धको गठबन्धनको रुपमा हेरिरहेको छ भने अरुहरुकापनि आआफ्नै हेराइ छन् । वास्तवमा हो के ? समाजवादी मोर्चाको निर्माणको सुरुवात विप्लवलाई संसदीय राजनीतिमा फर्कन वातावरण बनाउने, माओवादी केन्द्रसँगको एकताको निम्ति आधार तयार गर्न र दाहाललाई आफ्नो संसदीय सिटको आकार ठूलो देखाएर सरकार सुनिश्चित गर्ने अस्त्रको रुपमा गरिएको थियो । माधव र उपेन्द्रलाई पनि राजनीतिक ओत चाहिएकोेले उनीहरु समावेश भए । मूलतः यो मोर्चा माओवादी केन्द्र विप्लव मोर्चा हो । विप्लवलाई एकता र संसदीय राजनीतिमा ल्याउने भूमिका खेलिरहेका थिए विप्लवका गुरु कृष्णबहादुर महराले जो माओवादी केन्द्रका एकता वार्ता समितिमा संयोजक नै थिए । उनले विप्लवलाई प्रचण्डलाई हटाएर सिंगो माओवादी केन्द्रको नेता बनाउने आश्वासन दिएका थिए । विप्लवलाई आफ्नो गुरुको आस्वासनमा दृढ विश्वास थियो ।
परिस्थिति बदलियो । दाहालको सरकार अड्यो । मुख्य योजनाकार महरा सुनकाण्डमा परेपछि उनको राजनीतिक जीवन एकहदसम्म सकियो । विप्लवको आगमन जनार्दन वर्षमानलाई पचेन । उनीहरुले यसलाई दाहालले आफूहरुसँग खेल्ने दाउको रुपमा बुझे । जनार्दन त दाहाललाई विस्थापन गर्ने अभियानमै जुटे । पार्टीनै फुट्ने हल्लाचल्न थाल्यो । स्वयं दाहालपनि झस्के । जसको कारण मोर्चा भताभुंग भयो ।
दाहाल सरकारबाट बाहिरिएपछि फेरि यो मोर्चा जुर्मुराएको छ । सरकारबाट बाहिरिँदा पनि सुरुमा दाहालले यसलाई खासै चासो देखाएनन् । मोदीको बलमा काँग्रेसलाई दवाव सिर्जना गरेर सरकारमा फर्कने सकिने विश्वास उनमा थियो । तर जब त्यो विश्वास छिण भयो अनि उनले दवाव सिर्जना गर्ने अस्त्रको रुपमा यसलाई फेरि उचाल्न लागेका छन् । यो मोर्चा भनिए पनि माओवादी केन्द्र पार्टीको सहायक संगठन हो । जुनदिन यसमा माओवादी केन्द्र रहँदैन यो मोर्चा पनि स्वतः रहँदैन ।
उपेन्द्र, दाहालको विश्वासघातका कारण बाहिरीसकेका छन् । माधवले पनि दाहालवाट धोका नखाएका भने हैनन् र दाहालको चाल नबुझेका पनि हैनन् । तर उनको टाउकोमा ओलीको तरवार झुण्डिएको छ । त्यसबाट बच्न उनको लागि मोर्चा वाध्यात्मक आश्रय हो । विप्लवले आफ्नो राजनीति बास पनि छोडे नयाँ बास पनि बनेन । बासविहीन बनेका विप्लवलाई अनिवार्य आश्रयस्थल चाहिएको छ । त्यसैले उनी मोर्चा मोर्चा भन्दै चिच्याइरहेका छन् । मोर्चाको चरित्र र स्वरुप यही हो ।
अहिले दाहाल निकै दवावमा छन् । पार्टी भित्रैबाट उनलाई गम्भीर चुनौति खडा भएको छ । सत्ताबाट वाहिरिएपछि पार्टीको आन्तरिक सन्तुलन मिलाउन र आफ्नो असफलता ढाकछोप गर्न उनलाई हम्मेहम्मे परिरहेछ । भ्रष्टाचारको पोल खोलेर जनप्रिय भएको गफ त दिए त्यही भ्रष्टाचारको हतियार उनीविरुद्ध प्रयोग हुने खतराले उनी तर्सेका छन् । शान्ति प्रक्रिया टुंगिएको छैन । हेग पुर्याउने धम्कीको पनि सामना गरिरहनुपरेको छ । सत्तागठबन्धन झनै बलियो वन्दै गइरहेछ जसले गर्दा सत्तामा फर्कने ढोका सदाको लागि बन्द हुने खतरा बढ्दो छ । यसले गर्दा उनलाई अहिले सहयोगी चाहिएको छ । जुनदिन उनी यी समस्याबाट मुक्त हुन्छन् अर्थात् सत्तासँग नयाँ सम्झौता हुन्छ त्यही दिन यो मोर्चा सकिन्छ ।
