बालिकादेखि आशिकासम्म

काठमाडौं । नेकपा एमालेका नेता शेरधन राई कोशी प्रदेशको मुख्यमन्त्री थिए । २०७६ साल फागुनमा नेकपा एमालेकै नेतृ बालिका खड्काले शेरधन राईले आफूमाथि यौन दुव्र्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरिन् । तर त्यो बीचको समयमा के आश्वासन पाइन् र हो २०७७ भदौमा फेरि उनले त्यो मुद्दा फिर्ता लिइन् । आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै मुद्दा फिर्ता लिइन् । त्यो मुद्दा फिर्ता नाटकीय नै थियो । तर के आश्वासन पाएर मुद्दा फिर्ता लिएकी थिइन्, त्यो पूरा नभएपछि फेरि बालिका शेरधनविरुद्ध खनिन् थालिन् । सार्वजनिक कार्यक्रममा उनी शेरधरविरुद्ध गालीगलौज गर्ने र आक्रमणमै उत्रिन थालिन् । त्यतिबेला केपी शर्मा ओली नै थिए प्रधानमन्त्री । ओली सहभागी कार्यक्रममा नै बालिकाले शेरधनविरुद्ध मुख छाडिन् । यो क्रम लामै समय चल्यो । प्रहरीले कयौं पटक पक्राउ पनि गर्यो बालिकालाई । बालिकाले खोजेको न्यायको आवाज न त प्रधानमन्त्रीले सुने, न त प्रहरीले कसैले सुनेन । आखिर बालिका निरिह बनिन् । अन्ततः उनी थाकिन् । सायद कतैबाट साथ नपाएपछि होला उनी अहिले मौन छिन् ।

यतिबेला नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध एक वर्षदेखि एमालेकै नेतृ शोभा पाठक उत्रिएकी छन् । आफूलाई बस्नेतले विवाह गरेको र भ्रुण हत्या गर्न लगाएको भन्दै उनी प्रहरीदेखि अदालतसम्म पुगिन् । तर उनले पनि न्याय पाउन सकेकी छैनन् । उनी निवेदन लिएर पटक पटक प्रहरीकोमा पुगिन्, तर जाहेरी नै लिन नमान्ने र एकपटक निवेदन लिएपनि तामेलीमा राखिदिएको उनी गुनासो गर्दैछिन् । उनको निवेदनको सुनुवाइ हुनुको साटो बरु उनी पटक पटक थुनामा पर्दै छुट्दै आएकी छन् । प्रहरीकोमा पुरक निवेदन लिएर जाँदा हामीहरुलाई माथिबाट दबाब छ भन्दै उनलाई प्रहरीले फर्काउने गरेको बताउँदै आएकी छन् । अहिले उनी सामाजिक संजालमार्फत आफूले न्याय नपाएको भन्दै आत्महत्याको बाटो रोज्न बाध्य हुने बताउँदै आएकी छन् ।

नेकपा एमालेका अर्का केन्द्रीय सदस्य ऐन महरमाथि पनि बलात्कारको आरोप लागेको छ । आफू महरबाट बलात्कृत भएको भन्दै पीडित महिलाले प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो । त्यसविरुद्ध ती महिला उच्च अदालत पाटनको ढोका ढक्ढक्याउन पुगिन् । अहिले उच्च अदालतले महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने अदालतको आदेश दिएको हो । तर यो मुद्दा अघि बढ्न पक्कै सहज छैन । यी तीन घटनाको मुद्दा प्रहरीबाट अदालतसम्म नपुग्नुमा सत्ताको दुरुपयोग हो भन्नेमा कसैको दुईमत नहोला ।

यतिबेला एकजना पात्र जो चर्चित् छिन् । उनी हुन आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ । एजेण्डा सही तर अपनाएको बाटो अलि फरक भएका कारण आशिका यतिबेला प्रहरी हिरासतमा छिन् । गत असोजको कुरा हो । काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीमा उनले पानी किनन् । तर जिम्बुले ३५ रुपैयाँ पर्ने पानीको एकसय रुपैयाँ लियो । त्यसपछि आशिकाले वाणिज्य विभागमा उजुरी गरिन् । विभागले अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गर्यो । यो मात्र होइन उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको ज्यादती मुद्दा उठान गरिन् । त्यो उनको मात्र मुद्दा थिएन, आमनागरिकको थियो । किनकी त्यहाँ प्रवेश गर्नेबित्तिकै एक घण्टाको पार्किङ शुल्क  तिर्नुपर्ने हुन्छ । अनि राजमार्गका होटलहरुको ज्यादतीको मुद्दा पनि आमनागरिकको थियो । तिनै आशिका अहिले ड्युटीमा खटिएकी एकजना प्रहरीका सईलाई ‘सई होइन, असई हो’ भन्ने लाञ्छना लगाउने किसिमका अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेकी हुन् । अभद्र व्यवहारको कसुर गरेको अभियोगमा आशिकालाई २ माघमा पक्राउ परेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले दश हजार धरौटीमा रिहा गरेको थियो । तर भक्तपुरमा आशिकालाई हिरासतमा राख्न प्रहरीले आपराधिक उपद्रवको कसुरको जाहेरीको सहारा लिएको छ । यतिबेला आशिकालाई हत्कडी लगाएर थुनुवाको ज्याकेट लगाइदिएको तस्बिर सार्वजनिक भएपछि सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

आशिका जस्ता अभियन्ता बताउनेहरूले शैली बदल्नुपर्छ । त्यसमा कसैको दुईमत नहोला । तर आशिकालाई जसरी दुःख दिने नियतले जसरी घुमाइएको छ त्यसमा धेरैले आपत्ति जनाएका छन् । आशिकाले अपनाएको शैली गलत भए पनि उनले उठाएको मुद्दा सही छन् भन्ने धेरै छन् । नागरिकका दैनिक सरोकारका मुद्दा उठाउनु अपराध होइन । उनले उठाएको मुद्दा हामी सबैको मुद्दा हो । जसले जे भने पनि बालिका, शोभा र रश्मीला धामीहरुको निवेदन दर्ता नगर्ने प्रहरीका लागि भने आशिकाको पक्राउ कुरीकुरी हो है !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *