काठमाडौं । नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा पुगेको छ । सोमबार दिउँसो भएको दोस्रो क्वालिफायरको खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २-१ गोलले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पुलिसकी गोलरक्षक उषा नाथ नायक बन्दै टोलीलाई जित दिलाइन् ।
पेनाल्टीमा गोल गरेकी उनले तीन पेनाल्टी बचाएकी थिइन् । अब पुलिसले बुधबार हुने फाइनल खेलमा नेपाल एपीएफ क्लबको सामना गर्नेछ ।