बीबीसी । अमेरिकाको बाह्य गुप्तचर निकाय सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई परिवर्तन गर्दै त्यो जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना अधिक’ रहेको जनाएको छ ।
यद्यपि उसले त्यस्तो मुल्याङ्कनप्रति न्यून आत्मविश्वास रहेको भन्दै सावधानीपूर्वक प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्त गरेका जन र्याटक्लिफले सीआईएको निर्देशकको जिम्मेवारी सम्हालेपछि नयाँ विश्लेषण सार्वजनिक गरिएको हो ।
एक जना अधिकारीले उक्त परिवर्तन उपलब्ध गोप्य जानकारीका आधारमा गरिएको जनाएका छन् । विगतमा चीनले यस्तो अनुमानलाई असहयोगी र राजनीतिक रूपले प्रेरित रहेको बताउँदै आएको थियो ।
कोभिडको उत्पत्तिबारे नयाँ मूल्याङ्कन सार्वजनिक गर्ने कदम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा नियुक्त गरिएका सीआईएका नयाँ निर्देशक जोन र्याटक्लिफको पहिला निर्णयमध्ये एक हो। उनले बिहीवार मात्र पद सम्हालेका हुन् ।
ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रूपमा काम गरेका उनले लामो समयदेखि प्रयोगशाला चुहावट भएको भाइरसका कारण कोभिड महामारी फैलिएको भन्ने सिद्धान्तमा विश्वास गर्दै आएका छन् ।
उनले सम्भवतः वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट चुहावट भएको भाइरसका कारण कोभिड सुरु भएको हुन सक्ने दाबी गर्दै आएका छन् ।
उक्त संस्था र त्यसको प्रयोगशाला हुअनान बजारबाट गाडीमा जाँदा ४० मिनेट समय लाग्ने दूरीमा अवस्थित छ। कोरोनाभाइरस पहिलो पटक उक्त बजारमा फेला परेको थियो।