अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठकमा लिखित राजनीतिक कार्यपत्र प्रस्तुत नगरेपछि राप्रपामा हंगामा

काठमाडौं । राप्रपाको जारी केन्द्रीय कार्य समितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्तव्य मात्र राखेको र लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा ठूलो आलोचना भएको छ । वरिष्ठ नेता, पदाधिकारी तथा बहुमत केन्द्रीय सदस्यहरुले अध्यक्षले गम्भीर गल्ती गरे भनेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरुले महामन्त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजलाई समर्थन गरेका छन् । पार्टीको लक्ष्य प्राप्तिका लागि आन्दोलनमा जानुको विकल्प नभएको उनीहरुले बताएका छन् ।

‘अध्यक्षज्यूले लिखित कार्यपत्र पेश गर्नुपथ्र्यो, सो गर्नु भएन । यसमा ठूलो त्रुटी भयो, महामन्त्रीको पेपर माथि पर्ने अवस्था आयो,’ वरिष्ठ नेता ठाकुर शर्माले बैठकमा भने । ‘महामन्त्री राणाको पेपरको धेरै कुरामा मेरो सहमति छ, केही सुधार गर्नुपर्दछ ।’

सहायक महामन्त्री प्रवीण ठोकरले महामन्त्री राणाको कार्यपत्र हुबहु पारित गर्नुपर्ने बताए । केन्द्रीय निर्वाचन समिति पूनर्गठन गर्नुपर्ने उनको भनाई थियो ।

सहायक महामन्त्री प्रेम बलायर तथा सहायक महामन्त्री ऋषि देवकोटाले राणाको कार्यपत्र पार्टी एकता र लक्ष्य प्राप्तिका लागि सही रहेको भन्दै समर्थन जनाए ।

‘राप्रपाको इतिहासमै अध्यक्षले लिखित कार्यपत्र पेश नगरेको यो पहिलो केन्द्रीय समिति वैठक भयो, यस्तो गल्ती गर्नु हुन्न थियो ।’ केन्द्रीय सदस्य गोपाल पौडेलले भने ।

केन्द्रीय सदस्य जगत गौचनले आन्दोलन जानुपर्ने बताए । केन्द्रीय सदस्य लालकुमार लामाले पनि महामन्त्री राणाको समर्थन गरे ।

अध्यक्षले भाषण मात्र गर्दा के सन्देश लिएर जिल्ला, जिल्ला फर्कने भनेर अधिकांश केन्द्रीय सदस्यहरुले लिङ्देनको खरो आलोचना गरे ।

महामन्त्री राणाको पक्षमा जनक पाठक, प्रेम बलायर, रन्जन कार्की, प्रविण थोकर, निरन्जन थापा, शशी सिलवाल, मिना स्वर्णाकार, विश्वमोहन थापा, उदय पोखरेल, नानीमैया आचार्य, रामराज कोइराला, धनसुर शाही, युवराज घिमिरे, लालकुमार लामा, इनु अधिकारी, मिना सुवेदी, सुर्य बहादुर सिंह, गोपाल पौडेल, ऋषि देवकोटा, जगत गौचन, समृद्धी राणा, पवित्रा गिरी, सी एन शर्मा लगायतले समर्थन जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *