भोजपुर । नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट समाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिएको हो ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार भौगोलिक विकटताका कारण ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन जान समस्या रहेकाले शिविर चलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । स्थानीय सरकारले नागरिकलाई सहज सेवा प्रवाह गर्न आगामी वर्षमा पनि यो अभियानलाई निरन्तरता दिने छ ।
“भौगोलिक विकटताका कारण जेष्ठ र अशक्त नागरिकले सहज रूपमा राज्यले दिएको सुविधा लिन सक्ने अवस्था छैन”, अध्यक्ष राईले भने, “उहाँहरूले इच्छाएको व्यक्तिलाई दिँदा बाटोमा नै खर्च गरी दिएर भत्ता नपाउने अवस्था आएपछि वडा तथा घरदैलोमा पुगेर सेवा दिएका हौँ ।”
सामाजिक सुरक्षा भत्ता शिविरिमार्फत वडा नं १ ओख्रेका एक सय ६८, वडा नं २ धोद्लेखानीका एक सय २४, वडा नं ३ भुल्केका एक सय ६० र वडा नं ८ खोक्सिकका एक सय ३७ जनालाई सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताए । आइतबारसम्म सञ्चालन हुने उक्त शिविरबाट अन्य वडाका नागरिकलाई पनि सेवा प्रवाह गरिने उनको भनाइ छ ।
सहज रूपमा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् । आफ्नै घर नजिकैबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ८ खोक्सिकका वृद्ध श्रीबहादुर राईले बताए । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती भएको उनको भनाइ छ ।