विगतमा वामदेवका कारण ‘ठूलो दुःख’ पाएको एमालेले अहिले वामदेवलाई देला सुख ?

काठमाडौं । २०७८ भदौ १८ गते नेकपा एमालेमा राजीनामा बुझाएर पार्टी छाडेपछि वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान चलाएर बसेका थिए । सबै कम्युनिष्ट पार्टीलाई एकता गर्ने उद्देश्यले गौतमले एकता राष्ट्रिय अभियान चलाएका थिए । तर गौतमको अभियानप्रति अन्य कम्युनिष्ट पार्टीले वास्ता गरेनन् । कम्युनिष्ट पार्टी एक हुनुपर्नेमा बरु फुटको क्रम जारी नै रह्यो । त्यसपछि गौतम पार्टी एकता भन्दा पनि आफैं कुनै पार्टीमा जाने भन्ने प्रयासमा लागे । २०७९ को निर्वाचन ताका गौतमलाई नेकपा एकीकृत समाजवादीले पनि पार्टीमा आउन आह्वान गरेको थियो । तर उनी आएनन् । निर्वाचनपछि भने गौतम फेरि एमालेमै फर्कने कसरतमा लागे । तर एमालेले पनि उनलाई त्यति भाउ दिएन । बीचमा केही समय चुप बसेमा गौतम पछिल्ला एक दुई महिनादेखिने भने कुनै पार्टीको आश्रय लिने हेतुले वार्तामा लागे । उनले सुरुमा नेकपा एकीकृत समाजवादीमा जानका लागि पार्टीको नेतृत्वसँग पटक पटक वार्ता गरे । यसैक्रममा पुस १७ गते एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमै वार्ताका लागि आएका गौतमले दुई पार्टीबीच समझदारी विकास गर्ने सहमति भएको बताए । उनले माधव नेपालसँगको संवादपछि पार्टी एकता छिट्टै हुने बताए । उनले उनको एकीकृत समाजवादीसँगको तेस्रो पटकको संवाद थियो । वार्तामा गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिनेबारे सहमति भएको बताइएको थियो ।

तर फेरि एकाएक गौतम एमालेमै जाने निर्णयमा पुगे । अर्थात् माघ ६ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन संवादपछि आफू एमालेमा फर्किन लागेको बताए । उनले प्रधानमन्त्रीसँगको टेलिफोन संवादपछि भने, ‘आज बिहान ओलीजीसँग फोनवार्ता भएको थियो । कुरा सकारात्मक भएको छ । एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरेको थिएँ । पहिले तयार हुनुभएन । अहिले तयार भएर खबर गर्नुभएको छ ।’

गौतमले दुई वर्षदेखि एमाले नै फर्कन आफू तयार रहेको अभिव्यक्ति दिँदै आएका थिए ।
आइतबार प्रधानमन्त्री ओली र गौतमबीच टेलिफोन वार्ता भएको थियो । त्यसपछि मंगलबार बसेको एमालेको सचिवालय बैठकले नेकपा पार्टी एकता अभियानका नेता गौतमसँग थप छलफल गरेर सहकार्य गर्ने निर्णय गर्यो । पार्टी एकता नभई सहकार्य गर्ने एमाले निर्णय गर्यो । एमालेले पार्टी एकता नभई सहकार्य भनेकाले गौतमलाई ब्रेक लागेको एकथरीले बताउने गरेका छन् ।

पार्टीले सहकार्य गर्ने निर्णय गरेपनि एमाले पंक्ति गौतमलाई पार्टीमा भित्राउन नहुने पक्षमा देखिएका छन् । बिहीबार बुटवल पुगेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वामदेव गौतमसँग पार्टी एकता गर्नुपर्ने कुनै जरुरत नभएको बताए । उनले गौतमसँग कुनै समूह नभएकाले एकताको कुनै आवश्यकता नभएको बताए ।

उनले भने, ‘वामदेव गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले कुरा गर्नुभएको हो, त्यो विषय पार्टी पदाधिकारीमा पनि छलफल भयो, हामीले एकताको कुनै जरुरी छैन भनेका हौं । उहाँसँग साथमा को छ र, एकताका लागि ? एकताको त केही अर्थ हुन्छ होला नि, एमालेमा समाहित हुने भए हामी खुला छौ भनेका हौं, अध्यक्षले पनि त्यही कुरा गर्नुभएको हो ।’ उनले पार्टी अध्यक्ष र पदाधिकारी कसैले पनि वामदेवलाई कुनै पद दिने वा अरु कुनै शर्तमा ल्याउने कुरा नभएको र एमालेबाट त्यो संभावना पनि नभएको बताए ।

उपमहासचिव गुरुङ मात्र होइन एमालेका अरु नेताले पनि गौतमविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।शुक्रबार धनगढी पुगेका नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि वामदेवको आलोचना गरे । उनले वामदेवकै कारणले विगतमा एमालेले ठूलो दुःख भोग्नुपरेको बताए । उनले अहिले पार्टीले गौतमसँग सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै हतारिएर एकता प्रक्रियामा नजाने बताए । उनले भने, ‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दुःख पाएको थियो । उहाँ ठिक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउने थिएन । कहिले कता कहिले कता गर्नुभयो । त्यसपछि भएता अभियान भनेर थाल्नुभयो। अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो ।’

वामदेव एमालेमा जाने भएपछि अहिले २०८४ को निर्वाचनमा कम्युनिस्टहरूको दुईतिहाई शक्ति निर्माण गर्ने गरी काम गर्ने बताउँदै आएका छन् । तर एमालेकै नेताहरु वामदेवको काम छैन भन्ने अभिव्यक्ति दिँदै आएका छन् । यस्तो अवस्थामा वामदेवको सपना पूरा होला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *