अमेरिकामा जन्मेका आधारमा नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको आदेशमा अदालतको रोक

बीबीसी । अमेरिकमा जन्मेका शिशुहरू स्वतः त्यहाँको नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कार्यकारी आदेशमा सिआटलका एक सङ्घीय न्यायाधीशले अस्थायी रोक लगाइदिएका छन् ।

यूएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले उक्त आदेश ‘स्पष्ट रूपले असंवैधानिक’ रहेको बताउँदै दुई साताका लागि त्यो कार्यान्वयन गर्नमा तत्काल रोक लगाएका छन् ।

उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागु हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो । ट्रम्पले आफ्नो प्रशासनले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

बिहीबार २५ मिनेट लामो सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको थियो । यसको अर्थ अबको १४ दिन थप कानुनी प्रक्रियाहरू रोकिनेछन् ।

चार अमेरिकी राज्यहरू वाशिङ्टन, एरिजोना, इलिनोई र ओरिगनले उक्त मुद्दा अघि सार्दै जन्मका आधारमा नागरिकता प्राप्त गर्ने हक संवैधानिक रहेको र राष्ट्रपतिसँग संविधान संशोधन गर्ने अधिकार नभएको बताएका थिए ।

उनीहरूले उक्त आदेश कार्यान्वयन भएमा आफ्ना राज्यहरूले ‘तत्काल र अपूरणीय क्षति बेहोर्ने’ तर्क गरेका थिए । न्याय मन्त्रालयले ती राज्यहरूले अघि सारेका मुद्दाले अस्थायी रोक लगाउने कुनै अभूतपूर्व कदम चाल्न आवश्यक नरहेको तर्क गरे तापनि न्यायाधीश त्यसमा असहमत भएका छन् ।

कागजातबिना अमेरिकामा रहेका आप्रवासी र विदेशी आगन्तुकबाट जन्मिएका शिशुले पाउने नागरिकताको अधिकार अन्त्य गर्ने ट्रम्पको प्रयासविरुद्ध त्यहाँ अन्य कैयौँ मुद्दाहरू समेत परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *