नेपाली राजनीतिका झाँकी

-टंक कार्की ।

केही समय यता नेपाली राजनीतिमा, अनेक झाँकी देखिएका छन् । त्यो देखेर लाज पनि मुन्टो बटार्दो हो । तर यो सब यिनै दिनको उपज भने होइन । यसको पटकथा धेरै लामो समयदेखि लेखिन थालेको हो ।
०४६ सालको प्रजातन्त्रको पुनस्र्थापना नेपाली राजनीतिको लरतरो परिवर्तन थिएन । निरंकुशको सट्टा प्रजातान्त्रिक, निर्दलीयको सट्टामा दलीय र व्यक्ति प्रधानको सट्टा दल प्रधान प्रणालीमा परिवर्तन भएको थियो । परिवर्तन शक्ति सन्तुलनमा सहअस्तित्वको स्विकारोक्ति पनि थियो । त्यस परिवर्तनले लामो समयसम्म सत्ताको कित्ताबाट बाहिर राखिएका प्रतिपक्षीहरुलाई सत्ता आरोहणको अवसर पुरै सुम्पिदियो ।

२०६२/६३ पछि त पुरानो शासनको बचेखुचेको उपरिढाँचा पनि ढल्यो र सत्ताको संरचनामा आनको तान फरक पर्यो । तर पनि सोचे जस्तो र व्यवस्थाले खोजे जस्तो हुँदै भएन । सत्ताका नयाँ पारखीहरुले आफ्नो पुरानो प्रथमिकता र कवुललाई भुली दिए । अब हिजो आफैंले पैरवी गर्दै आएको सत्तामा साध्य र साधनको तादात्म्य हुनु पर्दछ भन्ने मान्यता बदलियो र त्यसमा साधनले महत्व पाउन थाल्यो । सत्तामा वर्चश्वको रस्साकसीलाई बहुदलीय प्रतिष्पर्धा भन्न थालियो । पुरानो शासनमा व्यक्तिले भोग चलन गर्न पाएको चकचकीको भूत नयाँ शासनका पारखीहरुमा पनि सवार हुन थाल्यो । पुरानो राज्यमा योग्यता कुलिनहरुको पेवा थियो । नयाँले त्यो योग्यता छ भनेर देखाउन खान पन, आभूषण र परिधान, बोली वचन, सरसंगत सबमा फेरबदल ल्याए, पुरानोबाट सापट लिएर । फगत अत्तर नयाँ थियो–मानौं एउटा ’नयाँ सांस्कृतिक क्रान्ति’ हुँदैछ । पुराना नेताहरु राजा, राजकुमार र राजकुमारीमा चोला फेर्दै गए, एकाधलाई छोडेर । त्यसमा मनग्गे समय दिइयो तर आफैंले कवुल गरेका दर्शन सिद्धान्त कता हराए कता ! राष्ट्रको सामागृक रुपान्तरण र साझा विकासको सपना ओझेलमा पर्यो । क्रमशः शक्तिको केन्द्रीयकरण गर्न थालियो । अलिक अघि मात्रै परिवर्तनमा प्रदर्शन भएको सहकार्य र मेलमिलाप, र गर्नु नै पर्दा हुनुपर्ने स्वस्थ, मर्यादित र जिम्मेवार प्रतिष्पर्धाका ठाउँमा निषेध र वैरभावले लियो, पार्टी पार्टी बीचमा होस् या अन्तरपार्टी सम्बन्धमा । अनि अथ्र्याउन थालियो, राजनीति आदर्शले होइन, व्यवहारवादले चल्दछ ।

हुन त जति बेला गणेशमान लौरो टेक्दै कांग्रेस केन्द्रीय कार्यालयवाट चाक्सीबारी लागे र कहिल्यै फर्केनन्, किशुनजी कांग्रेसबाटै लखेटिए, मनमोहनजी मानार्थ अध्यक्ष त बनाइएकै थिए, प्रधानमन्त्री हुँदा पनि मानार्थ बनाइए, त्यतिबेलै नेपाली राजनीतिले त्यसपछिको भावी गन्तव्य कता जाँदैछ भनेर दिशावोध गरेकै हो । अहिले त त्यसैको उत्कर्ष न हो । अब त हाकाहाकी सिद्धान्त, शिल र साधना तीनतिर मुख फर्काउन थाले, यतिसम्म कि मानौं तिनको कहिल्यै भेट हुँदैन । तर्क, विवेक र संयम सब लापत्ता । बाँकी एउटै खेल बार बार दोहोरीरहेको छ – म्यूजिकल चेयरमा ‘अन्धा’हरुको हारालुछ । तिनको चिथोरा चिथोर्याईं, कर्कश स्वरमा गाली गलौज, मुक्कामुक्की । कट्टु खोलाखोल, पेन्टी खोलाखोल ।

अनि यो पनि साँचो हो, दर्शक दीर्घामा रमिते मात्रै छैनन्, भित्रभित्रै उराल्ने तत्व पनि त छन् । यी सबको कक्टेल त हो आजकालको मञ्चन । अनि भने प्रतिदानमा मिलेको त अस्थिरता, अविकास, अराजकता, निरासा र पलायन न हो । अमर्यादित, भ्रष्ट, निर्लज्ज, लथालिङ्ग र भताभुङ्ग चाला । डोलिदै गएको सामाजिक असन्तुष्टि, आक्रोश, कुण्ठा र छटपटी । मानौं हामी ’आक्रोशको युग’मा बाँचीरहेका छौं । यो सबलाई देखाएर, अर्कोतिर, इतिहासले तिरस्कार गरेको शक्ति इतिहास स्वयंलाई फनक्क फर्काउन सारा आब्रुक उतारेर लाठी मुङ्ग्री चलाउन थालेको छ । जीवनको रोजाई तावाको माछो भुङ्ग्रो हुँदैन । यो पनि साँचो हो यस आक्रोश र छटपटीको भुङ्ग्रोमा आसाको फिलिङ्गो पनि सलबलाउँदै छ, त्यसै भनिएको होइन, ठेस खाए बुद्धि पलाउँछ । मानिसहरु औंलो ठड्याउन थालेका छन्, निधार खुम्च्याउन थालेका छन् । बाटो बिराएपछि सोझ्याउन त समय त लाग्छ नै । इतिहासको यस्तै दोसाँधमा उभिएर हरिभक्त कटुवालले भनेथे, ‘म संक्रमण कालको जरासंध हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *