मानव बेचबिखनका अभियुक्तलाई ओमानबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । प्रहरीले मानव बेचबिखनका अभियुक्तलाई ओमानबाट पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका २ घर भई काठमाडौँ टोखा नगरपालिका ३ बस्ने विनोद पौडेललाई पक्राउ गरेको हो ।

एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *