बीबीसी । युक्रेनविरुद्ध लडिरहेका उत्तर कोरियाली सैनिकहरूमध्ये झन्डै ४० प्रतिशत हताहत भएका पश्चिमा अधिकारीहरूले बताएका छन् ।
तीन महिनायता उनीहरू मस्कोको पक्षबाट रुसको कुस्र्क क्षेत्रमा लडिरहेका थिए । नाम उल्लेख नगर्ने सर्तमा कुरा गरेका ती अधिकारीहरूले उत्तर कोरियाले लड्न पठाएका अनुमानित ११ हजार सैनिकमध्ये युद्धमा झन्डै ४ हजार हताहत भएका बताएका छन् ।
यस सङ्ख्यामा मारिएका, घाइते, बेपत्ता र बन्धक भएकाहरू समेटिने अधिकारीहरूको भनाइ छ । मध्य जनवरीसम्ममा ती चार हजार मध्ये झन्डै एक हजार जना मारिएका उनीहरूको आकलन छ । यदि यो सूचना पुष्टि भएमा युक्रेन युद्धमा संलग्नता उत्तर कोरियालीहरूका लागि जारी राख्न कठिन हुने काम हुन सक्छ ।
घाइते उत्तर कोरियाली सैनिकहरूको उपचार कहाँ भइरहेको छ भन्ने थाहा छैन । तर यस आँकडा राष्ट्रपति भ्लादिमिर पुटिनका साझेदार किम जङ अनका लागि अभूतपूर्व रूपमा महँगो साबित हुने देखिन्छ ।
उत्तर कोरियाली नेता किम यस वर्ष ढिलो गरी हुन सक्ने युद्धविरामसम्बन्धी वार्ताअघि युक्रेनी फौजलाई रुसी भूभागबाट बाहिर निकाल्न पुटिनलाई सघाउन चाहन्छन् । युक्रेनले गत अगस्ट रुसी सीमारक्षकहरूलाई आश्चर्यचकित पार्ने गरी कुस्र्क क्षेत्रमा हमलाहरू गरेका थिए।