भारत । भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार साँझ लखनऊ–मुम्बई पुष्पक एक्सप्रेसका यात्रुहरूले आगलागी भएको अफवाहको कारण रेलबाट हाम फाल्दा नजिकैको ट्रयाकमा तीव्र गतिमा रहेको कर्नाटक एक्सप्रेसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चार जना नेपाली नागरिक रहेका छन् भने मृतक १३ मध्ये ७ जनाको सनाखत भएको भारतीय प्रहरीले जनाएको छ । मृत्यु हुने नेपाली नागरिकहरुमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेका भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ । तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ ।
सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेल ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो । दुर्घटनामा पटरीबाट खसेका डब्बाहरूले अर्को तीव्र गतिमा गइरहेको यात्रु रेललाई पनि ठक्कर दिएका थिए ।