डा.युवराज संग्रौला ।
राष्ट्र बैंकका एक जना पूर्वकर्मचारीको भनाइ थियो, ‘पाँच वर्षमा अर्थतन्त्र ध्वस्त हुन्छ। ‘कारण थुप्रै छन्, तर मुख्य कुरा सरकारको निर्णय गर्ने सामथ्र्यको बिसर्जन नै हो । एक जना पूर्वअर्थमन्त्री भन्दै थिए, ‘हरेक कुरामा उनीहरुको (विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोष)को निर्णय मान्न बन्द गरौँ।’ उनीहरुको निर्णय मान्नु हुँदोरहेछ हो कि ! विश्व बहुपक्षीय ध्रुवीकरणको तीव्र गतिमा छ । नेपाल समग्र दक्षिणसँग जोडिएको छैन । व्यापारमा १५ खर्बको घाटा छ । खासगरी के कारणले अर्थतन्त्र ध्वस्त हुंदैछ ?
१. हाम्रो वर्तमान वैदेशिक ऋण अलिकति पुगनपुग ७००० मिलियन डलर छ जसमध्ये ३०% एसियायी विकास बैंक र ५०% अमेरिकी नेतृत्वका विश्व बैंक, आइएमएफ, र पश्चिमी संस्थाको छ । अर्थात् नेपाल वित्त पुँजीवादी अन्तर्राष्ट्रिय संस्था र पश्चिमी देशको ऋण चंगुलमा जकेडिएको छ । वार्षिक ५० अर्ब यो ऋणको ब्याज र किस्ता तिर्न जाने गर्छ । यो ऋण असफल ठूला परियोजना जस्तै मेलम्ची खानेपानीमा ल्याइएको हो जसमा देशभित्र र बाहिरका मान्छेले ठूलो कमिसन कमाएका छन् । हाम्रो आम्दानीमा ४०% ऋणको भार झुन्डिएको छ।
२. उद्योगहरु मासिँदैछन् । ४१ वटा चिनी कारखानाहरु बन्द भएर अब ९ वटा मात्र बाँकी छन् । ३१ वटा सिमेन्ट कारखाना बन्द हुने खतराको सामना गर्दैछन् । ह्याचरी र फलाम कारखानाको अवस्था उस्तै छ । ह्याचरी र सिमेन्टमा नेपाल स्वनिर्भर थियो तर ती उद्योग मास्न विदेशीले पोसेका माफिया र नेता नै सक्रिय छन् । सरकारको विकास खर्च २०% भन्दा न्यून छ अतः फलाम र सिमेन्टको माग भएपनि प्रयोग हुँदैन । त्यसमा पनि २५% कर लगाएको छ।
३. बैंक, बीमा, पुनंर्बिमा आयात निर्यात कम्पनी, निर्माण कम्पनी, स्कुल र कलेज केही सीमित व्यक्तिका स्वामित्वमा छन् । यिनै व्यक्ति राजनीतिक दलका नेता, सांसद र मन्त्री छन् । देश त यिनैले लुट्ने खानी मात्र हो । सरकारमा बस्नेको कमाइ राम्रो छ अतः गठबन्धन बनाइ बनाइ सरकारमा बस्छन् ।
४. अहिले आएको भूमिसम्बन्धी ऐनले जग्गामा माफियाको पकडलाई झन् दरो बनाएको छ। अब गुठी मासिने अवस्था यसले निर्माण गरेको छ । गुठी जग्गाको स्वामित्व मोहिका नाममा दर्ता अधिकार भएको छ।
५. विदेशबाट आउने विप्रेषण बचत हुँदैन । ९४% उपभोक्तावादले लैजान्छ । ५ खर्ब विप्रेषण नेपालबाट भारत, ४४ अर्ब चीन र २३ करोड बाङ्लादेश जान्छ । १५ खर्ब व्यापार खाटा छ। जम्मा ७% मात्र निर्यातले धान्छ । देश विदेशी ऋणले चलेको छ। यो वर्ष मात्र ५१ अर्बको ऋण थपियो।
अहिलेसम्म शासकहरुले के गरे ? उत्पादन नाश भयो । नागरिक निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने देश कसरी उँभो लाग्छ ? राजनीति भोटतन्त्रबाट नेता र व्यापारीको अवान्छित गठजोडले लुटतन्त्रमा परिणत भयो । दलहरू केही नेताका क्लब बन्दै लोकतन्त्र भ्रस्ट दलतन्त्रमा रुपान्तरण भैसक्यो । अब पनि नसोच्ने हो भने भविष्य अन्धकारमा बिलिन हुनेछ ।
अतः
१. राज्यको स्वनिर्णयको अधिकार कसरी बहाल गर्ने हो भन्ने कुरा नागरिकको पहिलो सरोकारको कुरा हो ।
२. बिसर्जित उत्पादनको पुनस्र्थापना र उद्योगहरुको संरक्षण कसरी गर्ने हो भन्ने कुरा हाम्रो पहिलो प्राथमिकता नै हो ।
३. तहगत जात प्रथालाई अन्त गर्दै एउटा नयाँ सामाजिक संरचना निर्माण गर्नुपनि पहिलो प्राथमिकता नै हो ।
४. काठमाडौको केन्द्रिकृत शासन समाप्त गरेर सबै भूगोल र संस्कृतिलाई नेपाली हौं भन्ने भावना निर्माण गर्दै देशको एकता पुनर्जागृत गर्नु पनि पहिलो प्राथमिकता नै हो ।
अर्थात् देशले खोजेको कुरा भ्रष्ट दलतन्त्रबाट सामाजिक नागरिकतन्त्र दिशान्तरको युग हो ।