सहयोग रकम जुटाएर स्वास्थ्य चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका-९ स्थित घतानमा सामुदायिक वनको घाँस दाउरा बेचेको, मन्दिरको भेटीका, सरकारी निकाय र दाताको सहयोग जुटाएर स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । रु. १५ लाखको वडा स्तरीय विपद् व्यवस्थापन कोष स्थापना गर्नाका साथै रु. नौ लाख २४ हजारको लागतमा स्वास्थ्य चौकीको दुई कोठे भवन निर्माण गरिएको हो ।

बेनी नगरपालिका-९ का पूर्ववडाध्यक्ष बेलबहादुर चोखालले सरकारी निकाय र समुदाय स्तरबाट सहयोग जुटाएर भवन निर्माण र अक्षयकोष स्थापना गरिएको बताए । “विसं २०७६ मा समुदाय स्तरबाट संकलित रु. दुई लाख ६० हजारबाट भवन निर्माण थालिएको थियो,” उनले भने, “भवन निर्माणलाई पूर्णता दिन जिल्ला समन्वय समितिले रु. पाँच लाख, गलेश्वर मन्दिरबाट रु. एक लाख र सात वटा सामुदायिक वन उपभोक्ता समूहले रु. ५७ हजार सहयोग गरेका छन् ।”

गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको भेटी र सामुदायिक वन उपभोक्ता समूहले घाँस, दाउरा र काठ बिक्रीबाट भएको आम्दानी भवन निर्माणमा सहयोग गरेको चोखालले बताए ।

वडाध्यक्ष चक्र केसीले समुदाय स्तरबाट संकलितरु १५ लाखको विपद् कोष स्थापना भएको र सोको परिचालनका लागि विधान बनाएर संस्था दर्ता प्रक्रियामा रहेको बताए । वडा अध्यक्षको संयोजकत्वमा विपद् कोष बनाइएको छ । यसअघि एकतले तीन कोठे पुरानो भवनमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो ।

साँघुरो भवनमा सेवा प्रवाहमा समस्या भएपछि पहिलो तलामा दुईवटा पक्की कोठा बनाइएको हो । भवनको आइतबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा भवन निर्माण र वडा स्तरीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *