पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा प¥यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् ।
नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे । “सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो”, उनले बहने । मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए ।
वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उपमहासचिव ज्ञवालीको भनाइ थियो । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।
सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनको भनाइ थियो । सरकार भ्रष्टाचारका विरुद्ध निर्मम हिसाबले लागेकोउनले बताए । भ्रष्टाचार कुनै सिद्धान्त नभई मुलुकका लागि अभिसाप नै भएकाले जुनसुकै पार्टीसँग आबद्ध भएको व्यक्ति भए पनि कारबाहीको दायरमा ल्याएरै छाडिने उपमहासचिव ज्ञवालीले बताए ।
एमाले केन्द्रीय कमिटीको कार्यक्रमअनुसार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । प्रशिक्षणमा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।