जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ ।
आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।
यसले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्न निर्देशित गरेको छ ।
नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषदमा भएको मतदानपछि भने, “सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।”
इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।
इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको जसबाट दर्जनौंको ज्यान गुमेको छ । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।”
निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।
नेतन्याहूको कार्यालयले यसलाई ‘युद्धको उद्देश्य हासिल गर्न समर्थन गर्ने’ भन्दै इजरायलको सुरक्षा क्याबिनेटले यसलाई अनुमोदन गरेको थियो ।
प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेिस्टनी प्राधिकरणले युद्धपछि गाजामा पूर्ण जिम्मेवारी लिने तयारी पूरा गरेको बताए ।
युद्धविराम सुरु हुनुअघि नै विस्थापित गाजावासीहरू घर फर्कने तयारी गरिरहेको स्थानीय सञ्चारमाध्यमबाट प्रशारित समाचारमा जनाइएको छ ।