अधुरो र अपुरो ज्ञानले ग्रस्त देश

-सुवोधराज प्याकुरेल ।

नागरिक परिचयपत्रले दिने सकसको बाह्र हण्डर सत्ताइस घुसाको उपभोक्ता मध्ये एक हुँ म । मोरङ्गमा फारम भरियो । कम्प्युटरमा दर्ता भयो । हरियो टिक आयो । र कर्मचारीले भयो जानुस् भने । लामो दर्ता फारमको एकप्रति पनि दिए । एसएमएस आउँछ अनि लिन आउनुस् पनि भने । ६ महिनापछि सोध्न गएँ । एसएमएस आएपछिमात्र आउनुस् भनेर झर्किए । भीड अचाक्ली थियो । अपाङ्गता भएकाहरु भुइँमा घस्रिँदै पालो पर्खिरहेका थिए ।

३ महिनापछि फेरि गएँ । सहायक सिडीयोले कर्मचारी खटाइदिनु भयो । उनले फाँटमा लगे । बल्ल दोहोर्याएर हेरिदिए । र भने, तपाईंको दर्ता मिलेन, रिजेक्ट भयो । दर्ता भयो भनेर मलाई पठाएको के मिलेन भनेर सोध्दा उनले भने, हामीलाई थाहा हुन्न, सफ्टवेयर त्यस्तै छ, रिजेक्ट र एक्सेप्टमात्रै भन्छ । अब के गर्ने ? कसलाई थाहा हुन्छ ? भनेर सोधेको सिंहदरबारको बाटो देखाइदिए ।

काठमाडौँ आएँ । अनेक भनसुन गरेर विभाग पुगेँ । त्यहाँबाट थाहा लाग्यो, कम्प्युटरमा अंग्रेजीमा टोलको नाम दर्ता गर्न छुटेको रहेछ । अर्को सानो फारम भर्न लगाए । त्यसमा टोलको नाम छुट्न गएकोले थपिपाउँ को ब्यहोरा थियो । मैले भनेँ, मैले होइन मेरो फरममा त्यो छ, छुटाएको भए तपाईंको कार्यालयले हो । यो फारमले त मलाई नै दोषी भन्छ । तर केही सीप चलेन । फारम भरेको दुई हप्तामा एसएमएस आयो । गएर बटुलेँ ।

कस्तो सफ्टवेयर होला कि न त्रुटी बताउँछ, न खबर पठाउँछ । सफ्टवेयर कम्पनीको वेबसाइटमा पुरै बङ्गाली भाषामा छ । ठेगाना छ ढाका बाङ्गलादेशको । पुरा संरचना पाको नगरी, कर्मचारी र विज्ञताको प्रवन्ध नगरी किन लागु गरेको नागरिक परिचयपत्र ? अब अध्यादेश आयो । अनिवार्य पारियो । प्रधानमन्त्री समेत नागरिक एप र परिचयपत्रको अनिवार्यताको बखान गर्न थाल्नुभएको छ । यो देशमा अधुरो अपुरो ज्ञानले ग्रस्त रहेछन् सिङ्गो सरकारी ढाँचा । सतप्रतिशत प्रमाणित ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *