काठमाडौं । जय ट्रफी पुरुष इलिट कपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । बुधबार र बिहीबार भएको तेस्रो खेमा मधेश प्रदेशलाई इनिंस र ३५ रनले हराउँदै पुलिसले पहिलो जित दर्ता गरेको हो ।
नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दैमधेश प्रदेशले ४२ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुलशन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एक/एक विकेट लिए ।
जवाफमा नेपाल पुलिस क्लबले ५९ ओभरमा चार विकेटको क्षतिमा दुई सय ५८ रन बनाउँदै इनिंस सकिएको घोषणा गरेको थियो । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलिप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै आरिफ शेखले ४०, अमित श्रेष्ठले ३५, संखर रानाले ३१, अर्जुन साउदले २२ र गुलशन झाले २० रन बनाए ।
मधेशको लागि हरिशंखर शाहले दुई विकेट लिँदा रुपेश सिंह र अभिषेक तिवारीले एक/एक विकेट लिए ।
पहिलो इनिंसमा १ सय ५१ रनले पछि परेको मधेशले दोस्रो इनिंसमा ३२.२ ओभरमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । मधेशको लागि विशाल पटेलले २७, मायान यादवले २२ र हिमांशु दत्तले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पुलिसको लागि कुशल भुर्तेलले ४.२ ओभर बलिङ गर्दै २२ रन दिएर पाँच विकेट लिँदा गुलसन झाले तीन र ललित राजवंशीले दुई विकेट लिए ।