काठमाडौं । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामबरण यादव र उपराष्ट्रपति परमानन्द झा कार्यकाल सकिएपछि पुनः राजनीतिमा सक्रिय छैनन् । उनीहरु राजनीतिक तथा सामाजिक कार्यक्रममा सहभागी भएर भाषण गरेपनि पुनः पार्टी राजनीतिमा भने फर्केका छ्रैनन् । तर यतिबेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः राजनीतिमा फर्किने कुराले भने नेपाली राजनीति वृत्तमा ठूलै चर्चा पाएको छ । पूर्वउपराष्ट्रपति पुन त पार्टी बैठकमा सहभागी हुन थालेका छन् । पुन पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी नै भएका छन् । उनलाई बैठकमा उपाध्यक्षको सिटमा राखिएको छ । गत मंसिर १९ गते गणतन्त्र सेनानी कोषले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा पूर्वउपराष्ट्रपति पुनले आफू रातो मान्छे भएर उभिन तयार रहेको बताएका थिए । उनले भनेका थिए, ‘गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु ।’
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी पनि पार्टी राजनीतिमा फर्किने हल्लाले खुबै चर्चा पाएको छ । उनी पनि विभिन्न राजनीति कार्यक्रममा सहभागी त हुन्छिन् तर पार्टी बैठकहरुमा भने सहभागी भएकी छैनन् । भण्डारीलाई राजनीतिमा फर्किन पार्टीकै एक तप्का लागेको बताइन्छ । भण्डारी पुनः राजनीतिमा फर्किने हल्लाले एमालेमा मात्र नभई अन्य दलमा पनि हलचल ल्याइदिएको छ ।
भण्डारी राजनीतिमा पुनः सक्रिय हुने कुरामा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत छन् । ओलीले भण्डारीलाई सक्रिय राजनीति नगर्न र राष्ट्रपति भइसकेको व्यक्तिले पदको मर्यादा हेक्का राख्न सुझाव दिँदै आएका छन् । गत साउन २९ गते गते बसेको सचिवालय बैठकमा उनले राजनीतिमा आउने रहर नगर्न भनेका थिए । उनको भनाई थियो, ‘राष्ट्रपति भइसकेको व्यक्ति राष्ट्रिय सम्मानमा बस्नुपर्छ। फेरि राजनीतिमा आउनु राम्रो होइन । कसैले पनि त्यस्तो चाहना राख्नुहुन्न। अहिलेको आवश्यकता पूर्वराष्ट्रपति राजनीतिमा फर्कने होइन।’
त्यतिमात्र होइन ओलीले भण्डारीलाई नेताहरूले निरन्तर भेटिरहेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए।
तर, एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन एउटा ठूलै पंक्ति सक्रिय रहको बताइन्छ । इतर पक्षका मात्र नभई विगतमा ओलीका कट्टर समर्थक मानिएकै कतिपय नेताहरू भण्डारीलाई एमालेमा फर्काउन प्रयासरत छन् । मंसिर अन्तिम साता स्थानीय तहमा पार्टी कामका समस्या समाधान विषयक राष्ट्रिय कार्यशाला बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्यो ? किन उचालिराख्नुपर्यो र ? तपाईं आइदिनुपर्यो भनेर भन्नै परेन नि ! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो । उहाँले बुझिहाल्नुहुन्छ नि।’
यसबाट बुझ्न सकिन्छ कि ओली भण्डारीलाई कुनै हालतमा पुनः पार्टीमा फर्किन नदिने पक्षमा छन् ।
भण्डारी पुनः राजनीतिमा फर्किने कुराले एमालेमा मात्र होइन, अन्य दलमा हल्लीखल्ली चलेको छ ।
गत शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा नफर्किन र सामाजिक अभिभावकको भूमिका निर्वाह गर्न पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिए । उनले भने, ‘यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ भन्नेछु । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’
पूर्वराष्ट्रपति र पूर्व उपराष्ट्रपति राजनीतिमा सक्रिय हुन नपाउने कुनै कानुनी बन्धन छैन । उनीहरु राजनीतिमा सक्रिय हुन पाउँछन् । यसरी पूर्वराष्ट्रपति राजनीतिमा फर्किने चर्चाले अब संविधानमै पुनः राजनीतिमा सक्रिय हुन नपाउने व्यवस्था गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । कांग्रेस नेता रामहरि खतिवडाको यस्तै मत छ । उनी भन्छन्, ‘राष्ट्रपति र उपराष्ट्रपति अरु राजकीय पद जस्तो होइन । सबै जात, जाती, धर्म र संस्कृतिलाई जोड्ने राष्ट्रिय एकताको प्रतिक हो । गणतान्त्रिक संस्थाको गरिमा र उचाईको लागि पनि राष्ट्रपति र उपराष्ट्रपति कार्यकाल पछि कुनै पनि दलमा आबद्ध भएर सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गरौं ।’
कांग्रेस एमालेमा मात्र होइन, माओवादीमा पनि पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन नदिने ठूलै मत छ । माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरु पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने बताउँछन् । उनी भन्छन्, ‘जो कोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अबधि पूरा गरेपछि सक्रिय पार्टीको संगठनात्मक जीवनबाट विदा अनिवार्य हुनुपर्छ । त्यसमा पनि पार्टीको सदस्यता त्याग गरेर राज्यको माथिल्लो जिम्मामा पुगेका जस्तै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख आदिहरु पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ । बरु सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरुलाई त्यस्ता जिम्मामा पठाउनु पर्छ नत्र त संगठनात्मक जीवनमा प्रवेशको ढोका खुल्ला हुने तर निस्कने ढोका सबै बन्द गर्दा नयाँहरुको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।’
न्यौपाने मात्र होइन, माओवादीको जारी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन राजनीतिमा सक्रिय आउन नहुने पक्षमा धेरै नेताले सुझाव दिएका छन् । अब पूर्वउपराष्ट्रपति पुनको पुनः राजनीतिमा सक्रिय हुने इच्छालाई पार्टीले पूरा हुन देला कि नदेला भन्ने विषय पार्टीले निर्णय गर्ला । तर राजनीतिमा आउन भने इच्छुक छन् ।
हुन त पूर्वराष्ट्रपति भण्डारीले पनि औपचारिकरुपमा आफू पुनः सक्रिय राजनीतिमा आउने भनेकी त छैनन् । उनले भन्दै आएकी छन्, ‘प्रत्यक्ष राजनीतिमा फर्किन्छु फर्किन्न ठेगान छैन । मूलधारका राजनीतिक दललाई राष्ट्रिय एजेण्डामा सहयोग गर्ने सोचेको छु ।’
भण्डारीले यस्तो बताएपनि पछिल्लो समय उनी पुनः सक्रिय हुने खबर सार्वजनिक भइरहेका छन् । यसै मेसोमा गत बिहीबार पार्टी सचिवालय बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर दुई घण्टा छलफल गरेका थिए । भेट भण्डारी पुनः राजनीतिमा सक्रिय हुने, नहुने कुरामा केन्द्रित रहेको बताइन्छ । कतिपयले डा. भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाहीपछि भण्डारी ओलीप्रति रुष्ट भएको बताएका छन् । एमालेका एकथरी नेता आगामी महाधिवेशनमा पनि ओलीको विकल्प नभएको र अध्यक्ष ओली नै हुने बताउँदै आएका छन् । एमालेकै अर्काथरी केही नेता भण्डारीलाई अध्यक्ष बनाएर कम्युनिष्ट पार्टी एकता गर्ने अभियानमा छन् । पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनको राजनीतिमा सक्रिय हुने चाहना पूरा होला त ?
