प्रधानमन्त्री कप महिला क्रिकेटमा कञ्चनपुर र डडेल्धुरा विजयी

 

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल सम्पन्न भएका छन् । समूह ‘ए’अन्तर्गत भएका खेलमा कञ्चनपुर र डडेल्धुरा विजयी भएका हुन् ।

कञ्चनपुरले कैलालीमाथि सात विकेटको जित निकाल्दा डडेल्धुराले दार्चुलालाई एक सय रनले हरायो । कैलालीले दिएको एक सय ४६ रनको लक्ष्य कञ्चनपुरले १३ दशमलव दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान विन्दु रावलले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रनको योगदान गरिन् । बलिङमा कैलालीकी कविता रोकायाले दुई विकेट हात पारिन् ।

यसअघि दशरथचन्द क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४५ रन बनायो । जसमा भृकुटी चन्दले २२ र मनिषा बोहराले २१ रन हिर्काइन् । कञ्चनपुरका लागि सोनम जोशीले तीन र विन्दु रावलले दुई विकेट झारिन् ।

विन्दु खेलकी प्लेयर अफ द म्याच चुनिएकी स्कोरर गजेन्द्र चन्दले जानकारी दिए । आजै भएको अर्काे खेलमा डडेल्धुराले दार्चुलालाई एक सय रनले हरायो ।

जितका लागि पाएको एक सय ४४ रनको लक्ष्य पछ्याएको दार्चुला ४३ रनमा समेटियो । उसका लागि मनिषा ठगुन्नाले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । डडेल्धुराका रेजिना जाग्री र पूजा धामीले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङमा उत्रेको डडेल्धुराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । जसमा रविना धामीले अविजित ३९ रनको पारी खेलिन् । दार्चुलाका गीता चन्दले दुई विकेट हात पारिन् । डडेल्धुराकी रविना धामी प्लेयर अफ द म्याच चुनिएका छिन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजना यही पुस १९ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताएका छन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *