मस्तिष्कघातको निःशुल्क उपचार गर्ने सरकारको तयारी

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् ।

कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए ।

उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उनले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ,’ उनले भने । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखे ।

‘अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन,’ उनले भने, ‘अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा १ सयदेखि ३ सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।’ अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रूपमा रहेको उल्लेख गरे ।

उनले भने, ‘अस्पतालले उपचार सेवामा विविधीकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्षमुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।’

उनले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताए । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उनले जानकारी दिए । अस्पतालका निर्देशक डा. पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए ।

देशको एक मात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पताल २२ पुस २०१९ मा स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल ३ सय ७२ शय्या छन् । अस्पतालले आर्थिक वर्ष २०८०/८१ म १ लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *