यस्तो छ केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विपक्षी दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई अस्थिर, फुटपरस्त र अवसरवादीको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘डेढ वर्षको अवधिमा दुई–दुईचोटि प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको नेकपा (एमाले)ले प्रचण्डका पछिल्ला गतिविधि र भित्री दाउपेचबारे तत्कालीन प्रतिपक्षबाट जानकारी पाउनुपर्ने अवस्था आफैँमा मुलुकमा व्याप्त राजनीतिक बेथिति र विकृतिको चरम नमुना थियो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ ।’

ओलीले सहकारी ठगी प्रकरणमा कसैसँग प्रतिशोध नसाँधिएको बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘नागरिकहरूको बचत हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौं। जोसुकै होस्, दोषीले उन्मुक्ति पाउनु हुँदैन। कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोशिस गरिरहेका छन् । तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिसमेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ।’

ओलीले गल्ती नगरेको भए न्यायिक प्रक्रियाबाट कोही पनि डराउन नहुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *