युरोप अमेरिका त टाढाको कुरा भो, चीन र भारतबाट चाहिँ सिक्ने कि ?

नारायण गाउँले ।
विश्वका एकसय उत्कृष्ट सूचीमा भारतका विश्वविद्यालय पर्दैनन्, तर गुगलदेखि माइक्रोसफ्टसम्म विश्वस्तरीय कम्पनीका कार्यकारी प्रमुख भारतीयहरू छन् । माइक्रोसफ्ट एक्लै भारतीय अर्थतन्त्रकै हाराहारीमा विशाल छ । दशौं नेपाल जोडेर पनि गुगलजत्रो बन्दैन । सफ्टवेयर होस् या हार्डवेयर, आइटी क्षेत्रका विश्वस्तरीय कम्पनीहरूमा त अमेरिकनहरू पछि भारतीय उत्पादनको वर्चश्वजस्तै देखिन्छ । एडोब सिस्टमदेखि माइक्रोनसम्म, आइबिएमदेखि पालो अल्टो नेटवर्कसम्म भारतीय मूलका व्यक्ति सिइयो छन् । गन्न पनि गाह्रो छ ।

आइटीबाहिर पनि फ्रेन्च लग्जरी ग्रुप Chanel होस्, या ब्रिटिश मदिरा कम्पनी DIAGEO, भारतीय मूलका सिइयोको बोलबाला देखिन्छ । कतै ती पूर्व कार्यकारी प्रमुख छन् भने कतै त्यसको लाइनमा छन् ।
आज भारतीय उत्पादनहरू विश्वब्याङ्कदेखि विश्वका ठूला ठूला कम्पनीमा महत्त्वपूर्ण जिम्मेवारी लिन सक्ने गरी विकास भएका छन् । स्टार्टअपहरू त कति छन् कति । भारतीय मूलका व्यक्तिको पहुँच अमेरिकादेखि बेलायतको राजनीति र सत्तासम्म पनि छ । व्यापार त भन्नै परेन ।

भारत र हामीबीच भ्रष्टाचार र निम्नस्तरको राजनीतिमा खासै फरक छैन । सरकारी बाबुलाई खुट्टा नढोगी र नजराना नचढाई त्यहाँ पनि सरकारी दफ्तरमा काम हुँदैन । तर शिक्षा, स्वाथ्य, विज्ञान, प्रविधि र आर्थिक क्षेत्रहरूलाई तिनले राजनीतिबाट बचाएका छन् । लोकतन्त्र र देश भनेको यस्तै संस्थाहरूको स्वायत्तता र विकासले बलियो बन्ने हो । त्यहाँ सम्प्रदाय र जाति अनि धर्म र क्षेत्रको नाममा तुच्छ राजनीति गर्ने पनि छन् तर चन्द्रमामा यान पठाउन सक्ने वैज्ञानिक पनि छन् । नेताले शिक्षा र अनुसन्धान बिथोल्दैनन्, वैज्ञानिकले राजनीति गर्दैनन् ।

‘आइआइटी’ भन्ने शैक्षिक संस्थाले मात्रै आज विश्वका धेरै देश र कम्पनीलाई हजारौँ दक्ष जनशक्ति र नेतृत्व दिएको छ । आज नहोला, निकट भोलिमै भारतीय शैक्षिक संस्थाहरूको विश्वभर प्रभाव स्थापित हुँदै गरेको अनुमान गर्न सकिन्छ । आफ्ना उत्पादनहरू ट्रिलियन डलरका कम्पनी हाँक्ने ठाउँमा पुग्दा सानो लगानीमात्रै देश भित्रियो भने पनि तिनलाई धेरै हुन्छ । हामी पनि छिमेकमैँ छौं । हेर्दा उस्तै छौं । हामीसँग पनि विश्वविद्यालय र क्याम्पस छन् । प्रज्ञा प्रतिष्ठानदेखि विज्ञान तथा प्रविधि प्रतिष्ठानसम्म हामीसँग पनि छन् । तर हामीले भारतीयहरूलाई पछ्याउन सकेका छैनौं । राजनीति गर्न त बराबर नै छौं ।

टाढाबाट सिक्न सकिन्न । भारत त नजिकै छ । चीन पनि नजिकै छ । अलिकति सिक्न सके पनि हुन्थ्यो । दुई चारवटा एम्बुलेन्स र नेताका नाममा प्रतिष्ठान माग्नुभन्दा टप शैक्षिक संस्थामा वर्षको ६०–७० सीट मागे पनि हुन्थ्यो । त्यत्ति पनि चाहिन्नथ्यो । हाम्रो विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न सके पनि केही त हुन्थ्यो कि ? सिक्नकै लागि भनेर हाम्रा जनप्रतिनिधिदेखि कर्मचारीसम्म बाक्लै बेलायत आउँछन् । सिक्नचाहिँ के सिक्छन् कुन्नि !

देश बन्न पक्कै पैसा चाहिन्छ, तर त्यससँगसँगै दक्ष र विज्ञ जनशक्ति चाहिन्छ । अब्बल नेतृत्व चाहिन्छ । हामीलाई शिक्षादेखि स्वास्थ्य, प्रविधिदेखि अर्थशास्त्र र कूटनीतिदेखि कृषिसम्म हजारौँ विज्ञ उत्पादन चाहिएको छ । त्यसका लागि त्यस्तै अब्बल संस्था चाहिन्छ । हामी यस्ता छौं, कुनै संस्था चलेको देख्यौं भने त्यसलाई कसरी धूलिसात् पार्ने भन्नेतिर लागिहाल्छौं । हाम्रो मजा त्यही लुतो कन्याइमा छ ।
र, अन्त्यमा हामी यस्तै त हो नि ब्रो !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *