उहाँहरुका अभिव्यक्ति सार्वजनिक खपतका लागि मात्र थिए त ?

काठमाडौं । गत फागुन अन्तिम साता नेकपा माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग गठबन्धन गरी सरकार गठन गर्यो । सत्ताबाट कांग्रेसलाई माओवादीले सडकमा पुर्याइदियो । उपप्रधान तथा गृहमन्त्री बने रास्वपाका सभापति रवि लामिछाने । त्यतिबेला रविको सहकारी ठगी प्रकरण बाहिर आइसकेको थियो । रविले स्वार्थको मन्त्रालय लिएको भन्दै माओवादीले सदन तताउन सुरु गर्यो । कांग्रेसले सदनमा रविको विरोध गर्न थालेपछि रविले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको बताए । रविले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलिपल्टदेखि संसद बन्द गरेको बताए । उनले यस्तो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौतीसमेत दिए । रविले यस्तो बताएपनि कांग्रेस त्यसलाई स्वीकार्न तयार भएन । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रधानमन्त्रीको प्रस्ताव कसले गर्यो भनेर नाम खुलाउन चुनौती दिए । यस्तै, लामिछानेले अफवाह फैलाएर आफ्नो टिआरपी बढाउन खोजेको कांग्रेसका सांसदहरूको आरोप लगाए । यस कुरामा रविमाथि पनि प्रश्न गरियो, के गृहमन्त्री खान जाने नेताले त्यसो भए किन प्रधानमन्त्री पद स्वीकार गरेनन् त ? रविको भनाइको न कांग्रेसले स्वीकार गर्यो न त रविले नै यस कुराको पुष्टि गर्न सके । भयो त केबल संचारमाध्यमका हेडलाइन मात्र ।

फागुन अन्तिम साता सत्ताबाट माओवादीले सडकमा पुर्याएको कांग्रेस र एमाले असार अन्तिम साता आइपुग्दा एकठाउँमा आए । अनि माओवादी र रास्वपा सडकमा पुगे । माओवादी र रास्वपा सडकमा पुगेकामा छटपटीमा थिए र अहिले पनि छन् । यस्तैमा मंसिरमा स्थानीय तहको निर्वाचनअघि काठमाडौंको कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले अहिले पनि हप्तामा एक पटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनिदिनुपर्यो भनेर कांग्रेसलाई खबर पठाउने गरेको बताए । तर कांग्रेस असार १७ मा एमालेसँग भएको सहमतिअनुसार सरकारलाई तलमाथि गर्ने पक्षमा नरहेको महामन्त्री थापाले बताए ।

महामन्त्री थापाले भने, ‘अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गथ्र्यो।’

गगन थापाको अभिव्यक्तिप्रति प्रचण्डले तत्काल आपत्ति जनाए । उनले गगनले गरेकोे टिप्पणीप्रति दया लागेको बताए । उनले आफूप्रति लगाएको झूटो आरोपको आत्मसमीक्षा गर्न थापालाई सुझाव समेत दिए । माओवादीका थुप्रै नेताले गगनप्रति असन्तुष्टि पोखे । गगनले यो कुरा त बोले, तर यसलाई पुष्टि गर्ने प्रमाण भने दिन सकेनन् । यदि टेलिफोनमा कसैले कुरा गरेको भए त्यसलाई बाहिर ल्याएको भए हुन्थ्यो । यो विषय पनि त्यतिकै सेलायो । अखिर यो विषय पनि केही दिन संचारमाध्यमको हेडलाइन मात्र बने ।

अहिले कांग्रेस–एमालेको सरकार ढल्न लागेको बजारमा हल्ला चलाइएको छ । यसैबीचमा गत शुक्रबार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेसका नेताहरूले वर्तमान एमाले नेतृत्वको सरकार फेर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए। उनले भने, ‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो । अब कम्युनिस्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ। उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ। हामी रहर गर्नुभएको छ बोक्नुस्, भनिरहेका छौँ ।’ वर्षमानको यो अभिव्यक्तिमा कांग्रेसले त कुनै प्रतिक्रिया नै जनाएन । उनको अभिव्यक्ति पनि संचारमाध्यमका हेडलाइन मात्र बने । पुनले पनि सरकार परिवर्तनका लागि कांग्रेसले प्रस्ताव गरेको कुनै पत्यारिलो प्रमाण प्रस्तुत भने गरेका थिएनन् ।

रविको भनाईको कांग्रेसले ठाडै अस्वीकार गर्यो र प्रमाण प्रस्तुत गर्न आग्रह गर्यो तर रविले बोले मात्र प्रमाण प्रस्तुत गर्न सकेनन् । गगनको अभिव्यक्तिको पनि मओवादीले प्रमाण खोज्यो, उनले पनि केही प्रमाण प्रस्तुत गर्न सकेनन् । वर्षमानको अभिव्यक्ति पनि त्यस्तै भयो, भन्दिनका लागि भन्दिएको जस्तो । यत्रो सूचना प्रविधिको युगमा दर्शक, पाठक र आममानिसले प्रमाण खोज्छ । तर नेताहरुका यी अभिव्यक्ति संचारमाध्यमका हेडलाइन शिवाय केही भएनन् । त्यसो भए नेताहरु सार्वजनिक खपतका लागि मात्र बोल्छन् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *