काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भयो । उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए । उनले नै सन् १९९१ मा भारतीय अर्थतन्त्रलाई उदारीकरणको बाटोमा लगेका हुन् । भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको निधनप्रति नेपालका नेताहरुले मात्र होइन अन्य क्षेत्रका व्यक्तिले पनि दुःख व्यक्त गरे । सिंहसँग भेट गरेका हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुले उनीसँगै बसेको तस्बिर राखेर सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिए । केही नेताले सिंहको बारेमा लेख नै लेखे । र विभिन्न दलका नेता कार्यकर्ता र अन्य क्षेत्रका व्यक्तित्वले भने सिंहको तस्बिर राखेर श्रद्धाञ्जी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहसँगको भेटको तस्बिर राख्दै सामाजिक संजालमा यस्तो लेखे, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’
त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सिंहसँगको भेटको तस्बिर राख्दै सामाजिक संजालमार्फत श्रद्धाञ्जली व्यक्त गरे । उनले लेखे, ‘भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले म गहिरो दुःखी छु । उहाँको निधनले हामीले नेपालका एक असल मित्र गुमाएको छ । म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु। उहाँको दिवंगत आत्माले शान्ति पाओस् !’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त सिंहसँगको भेटको तस्बिर सामाजिक संजालमा राख्दै विप्पा सम्झौता, सीमा विवादलगायतका विषयमा भएको संवादबारे लामो लेख नै लेखे ।
अरु नेताहरुले पनि सिंहको निधनमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । २०६२/६३ को जनआन्दोलनलगत्तै प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गएका थिए । त्यसबेला सिंहले कोइरालालाई उहाँ अग्लो व्यक्तित्वका रूपमा नेपालका सबै प्रजातान्त्रिक शक्ति र दक्षिण एसियाकै नेता भन्दै प्रशंसा गरेका थिए । कतिपयले यही कुरालाई लिएर पनि सिंहलाई सम्झिए । बिहीबार राति निधन भएका सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उनको अन्त्येष्टिमा परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थिति थियो । देशका सबै राजनीतिक दलका नेता कार्यकर्ता अन्त्येष्टि समारोहका सहभागी भएका थिए भने छिमेकी मुलुकहरुबाट समेत पाहुना अन्त्येष्टि समारोहका सहभागी भएका थिए । भुटानका नरेशसमेत अन्त्येष्टिमा पुगेका थिए ।
तर छिमेकी मुलुक नेपालबाट भने अन्त्येष्टि समारोहकमा कोही पनि सहभागी भएनन् । अहिलेका प्रधानमन्त्री ओलीदेखि देउवा, भट्टराई, माधव नेपालहरुले मित्रको संज्ञा दिएका सिंहको निधनमा किन नेपाल सरकारले प्रतिनिधि पठाएन त ? गिरिजाप्रसाद कोइरालाको निधनमा भारतका विदेशमन्त्री एसएम कृष्णा, वित्तमन्त्री प्रणव मुखर्जी र लोकसभा अध्यक्ष मीराकुमार कोइराला अन्तिम संस्कारमा सहभागी हुन आएका थिए । त्यस्तै सुशील कोइरालाको निधन हुँदा विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको टोली अन्तिम संस्कारमा सहभागी हुन आएको थियो ।
तर आइतबार साँझ परराष्ट्रमन्त्री डा आरजु राणाले साँझ काठमाडौँस्थित भारतीय दूतावासमा पुगी सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरिन् । सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनले श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
भारतसँग हाम्रा अनेक विवाद होलान्, तर छिमेकी हो र त उसले हाम्रा पूर्वप्रधानमन्त्रीहरुको निधन हुँदा उच्च अधिकारी नेतृत्वको टोली पठायो । तर सामाजिक संजालका भित्तामा यस्तो गुणगान गाउने नेताहरुले सरकारका तर्फबाट प्रतिनिधि नपठाउँदा प्रश्न उठ्नु स्वाभाविक नै हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले सरकार र कांग्रेसले सिंहको अन्त्येष्टिमा प्रतिनिधि नपठाउनु आत्मा मरेको राज्य भएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘छिमेकी मुलुकको दिग्गज नेता मनमोहन सिंहको अन्त्येष्टिमा न त सरकार न त कुनै राजनीतिक दल न त नेपाली कांग्रेसले आफ्ना प्रतिनिधिमण्डल नपठाउनु आत्मा मरेको राज्य, राजनीतिक दल र सम्वेदनहीन छिमेकीको उदाहरण दिए । खस्केको कुटनीति क्षमता र अपरिपक्क नेतृत्वले संवेदनशील भूराजनीति कसरी लाने हो ?’
पूर्वराजदूत विजयकान्त कर्ण यस प्रकरणमा नेपाली कांग्रेसले लाज पनि राख्न नसकेको बताएका छन् । उनको भनाई छ, ‘त्यही भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह थिए, जसले गिरिजाप्रसाद कोइरालालाई एयरपोर्टमा स्वागत गर्न र बिदाई गर्न पनि आएका थिए । स्वागत गर्दै डा सिंहले भने, ‘तपाईं नेपालको प्रधानमन्त्री मात्र होइन, लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनको महान नेता हो’ नेपाली कांग्रेसले यसको लाज पनि राख्न सकेन।’
ओली प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतको गर्न चाहन्थे । तर भारतले निम्ता नदिएपछि उनी चीन भ्रमणमा गए । चीन भ्रमणबाट फर्केपछि पटकपटक अब छिट्टै भारत भ्रमण जाने बताउँदै आएका थिए प्रधानमन्त्री ओली । तर परराष्ट्रमन्त्री डा. आरजु राणा पछिल्लो पटक भारत भ्रमणमा जाँदा वेवास्ता गरेको खबर सार्वजनिक भएको छ । त्यसपछि भारतसँग प्रधानमन्त्री ओली थप चिढिएको बताइन्छ । उनले केही दिनअघिको पार्टी बैठकमा भारत भ्रमणबारे चर्चा गर्न आवश्यक नभएको समेत बताएका थिए । निम्ता आए जाने, नत्र नजानेसम्मको अभिव्यक्ति बैठकमा प्रधानमन्त्रीले दिएका थिए । कतिपयले यसै विषयलाई लिएर नेपाल सरकारले सिंहको अन्त्येष्टिमा वेवास्ता गरेको समेत टिप्पणी गर्न थालेका छन् ।
