एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । बिहीबार राति भएको खेलमा लेस्चर सिटीलाई ३-१ गोलले हराउँदै लिभरपुलले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाहले समान एक/एक गोल गरे । लेस्चरको लागि जोर्डन एनिउले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा लेस्चर पराजित हुन पुगेको हो । खेलको छैटौं मिनेटमा एनेउले गोल गर्दै लेस्चरलाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ को इन्जुरी समयको पहिलो मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । ४९ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई खेलमा अगाडि बढाए । यस्तै ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै लिभरपुल १७ खेलबाट ४२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबात १४ अंक जोडेको लेस्चर १८ औं स्थानमा रहेको छ ।