जनयुद्धलाई अपमान नगर्न विप्लवको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेको बताएका छन् ।

माओ जयन्तीका अवसरमार बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा विप्लवले ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर अन्यत्र बहसलाई मोड्ने काम भएको बताए । उनले ‘जनयुद्ध’ शब्दलाई प्रतिबन्ध लगाउने आदेश दिने न्यायाधीशलाई हात कामे कि कामेनन् भनेर सोधेका छन् ।

उनले भने, ‘अहिले संसददेखि अदालतमा जनयुद्धलाई अपमानित गर्ने काम भइरहेको छ । न्यायालयमा प्रधानन्यायाधीश सहितका न्यायाधीशहरुले जनयुद्ध शब्दलाई प्रतिबन्ध लगाएको छ । अरू त ठिक छ सपना प्रधान मल्लको हात काम्यो कि कामेन ? सपना मल्लको हात जनयुद्ध होइन भन्दा हात थरथर हुनुपर्छ कि पर्दैन ? तपाईँलाई कसले पुर्यायो त्यहाँ ?’

पुस सात गते संवैधानिक इजलासले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो । महासचिव विप्लवले हाल नेपालमा विविध स्वार्थ र उद्देश्यका पात्रहरु सक्रिय रहेको संकेत गरेका छन् ।

उनले भने, ‘कसैको अनुहार रातो छ, कसैको कालो छ । कोही स्यालजस्तो कराउँछन्, कोही ब्वाँसोजस्तो कराउँछन् । कोही अलिअलि बाघजस्ता पनि छन्, कोही राघेपाटे पनि छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *