काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगितालाई दोस्रो संस्करणको रुपमा यस वर्ष निरन्तरता दिइने भएको छ । गत वर्ष आयोजित पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणका रूपमा निरन्तरता दिने तयारी भएकाे आयाेजकले जनाएकाे छ ।
काठमाडौँको बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा बुधाबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिता आगामी माघ १६ र १७ गते आयोजना गरिने जानकारी दिइएको हो ।
नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले न्युयोगर्कमा मुख्यालय रहेको यूएस नेपाल क्लाइम्बर एशोसिएसनको आयोजना र नेपाल नेशनल माउन्टेन गाइड एसोशियसले संयोजकत्वमा दाेस्राे संस्करणकाे प्रतियोगिताको हुने भएको हो ।
यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता दुई चरणमा हुनेछ । दुई दिनसम्म चल्ने प्रतियोगताको पहिलो दिन क्वलिफाइङ राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल राउण्डकाे रूपमा सम्पन्न गरिने छ ।
क्वलीफाइङ् राउन्डको लागि उपयुक्त ठाउँ छिटै सार्वजनिक गरिने उल्लेख गर्दै अध्यक्ष शेर्पाले सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने बताए । बुधबारकाे पत्रकार सम्मेलन पनि क्रिम्पान्जी मै गरिएकाे थियाे ।
प्रतियोगिताको संयोजक समेत रहेका शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए । तेन्जिङ नोर्गे शेर्पाको नाममा कुनै पनि प्रतियाेगिता रहेनछ, उनले भने, त्यसैले उहाँकाे छाेरासँग अनुमती लिएर प्रतियाेगिता उहाँकाे नाममा राखिएकाे हाे ।
आरोहण क्षेत्रमा रुची राख्नेलाई सो प्रतियोगिताले अझ प्रोत्साहन गर्ने विश्वास उनले व्यक्त गरे ।
उनले भने, ‘हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाे र गतसाल नेपालमा आयोजना गरिएकाे प्रतियाेगिता साेचेकाे भन्दा राम्राे र सफल भएकाेलेआफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौं ।’
पहिलो पटकको प्रतियोगिताले युवाहरुमा राम्रो छाप परेको सुनाउँदै अध्यक्ष शेर्पाले अनुमान गरेभन्दा दोब्बरले प्रतियोगी सहभागी भएको बताए । पहिलो संस्करणमा झण्डै ६० प्रतियोगी सहभागी थिए ।
यस पटककाे प्रतियोगीका लागि दर्ता शुल्क पाँच सय रूपियाँको तोकिएको छ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागीता जनाउन सक्ने बताइएको छ ।
प्रतियोगिताले आरोहण संस्कृतिको विकास, सौहार्द्रता कायम र विश्व प्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा प्रतिको उच्च सम्मान प्रकाट गरिएको उत्सवको रूपमा लिइएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए । उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति उच्च सम्मान पनि हो ।’
प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । यस पटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागीता जनाउने अपेक्षा गरिएको छ । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला र पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रूपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।
यसपटककाे प्रतियाेगितामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसले प्रविधिक पक्षकाे जिम्मेवारी समाल्ने छ । एसोसियसनका प्राविधिक निर्देशक कसाङ्ग काजी शेर्पाले आरोहणमा प्राविधक पक्ष ज्यादै महत्त्वपूर्ण हुने बताउँदै प्रतियोगीको सुरक्षाको उचित प्रवन्ध मिलाइएको जानकारी दिए ।
यूएस-नेपाल क्लाइम्बरस एशोसिएसन र नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनले प्रत्येक वर्ष पालैपालो कोअर्डिनेटर हुने गरी प्रतियोगिता सञ्चालन गर्ने दुबै पक्षबीच सहमति भएको जानकारी सो अवसरमा दिइएको थियो ।