काठमाडौं । सहकारी ठगी प्रकरणमा कात्तिक दुई गते काठमाडौंबाट पक्राउ गरी पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा केन्द्रित प्रदर्शन सुरु गर्यो । उसले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको र रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन सुरु गरेको थियो । उसले सुरुका एक महिनाजति दैनिकजसो पोखरामा विरोध प्रदर्शन गर्यो । पार्टी सभापति पक्राउ परेपछि अब रविले कार्यवाहक सभापति तोक्लान् भन्ने अपेक्षा थियो । तर उनले कसैलाई कार्यवाहक सभापति तोकेका थिएनन् । प्रदर्शनकै क्रममा कात्तिक २५ गते पार्टी उपसभापति डीपी अर्यालले रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा रवि लामिछाने जिउँदो रहेसम्म सभापति अरु कोही नहुने बताए । विरोध प्रदर्शनलाई सम्बोधनका क्रममा अर्यालले भने, ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो । यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो । रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने हो ।’ उनले जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी पनि गरेका थिए ।
उनको भनाईबाट के स्पष्ट हुन्थ्यो भने यदि रविले कार्यवाहक तोके भने डीपी पक्का । रास्वपामा दुई उपसभापति छन् । एकजना डीपी र अर्का डा. स्वर्णिम वाग्ले । रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ । तर रविको पक्षमा यति बोलेपछि स्वर्णिमले कार्यवाहक नपाउने अर्यालको भनाईबाट स्पष्ट हुन्थ्यो । अर्यालको यो अभिव्यक्ति आएको लामो समयसम्म पनि रविले कार्यवाहक कसैलाई तोकेनन् । तर जब आइतबार रविबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा कास्की जिल्ला अदालतमा दर्ता भयो त्यसपछि सोमबार अर्याल कार्यवाहक सभापति तोकिए ।
सोमबार बसेको पार्टी सचिवालय बैठकमा अर्याललाई कार्यवाहक तोकिएको निर्णय यसरी सुनाइएको थियो, ‘पार्टी सभापति रवि लामिछानेद्वारा पार्टी उपसभापति डोलप्रसाद(डीपी) अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकिएको व्यहोरा पार्टी सचिवालयलाई जानकारी गराइयो र यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरियो । पार्टी विधान २०७९(संशोधन २०८१) को धारा २५(४)(क)(९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले उहाँलाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत् केन्द्रीय समितिलाई जानकारी गराइएको छ । उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको छ ।’
अहिलेसम्म रविले हाँक्दै आएको पार्टी अब भने कार्यवाहक सभापति अर्यालले हाँक्नेछन् । रास्वपामा सभापति मात्रै कार्यवाहक होइनन्, महामन्त्री र प्रवक्ता पनि कार्यवाहकले चलाउँदै आएका छन् । डा.मुकुल ढकाललाई पार्टीले कारबाही गरी महामन्त्रीबाट हटाएपछि कार्यवाहक महामन्त्रीको जिम्मेवारी असार १९ गतेदेखि कविन्द्र बुर्लाकोटीले पाएका छन् भने कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनिष झाले । यसअघि मुकुल ढकाल महामन्त्री र पार्टी प्रवक्ता थिए ।
रवि लामिछानेविरूद्ध सोमबारदेखि कास्की जिल्ला अदालतमा थुनछेकको बहस चलिरहेको छ । यता उनको सांसद पद पनि निलम्बन भएको छ । सोमबार संघीय संसद सचिवालयले लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको हो । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन् ।
रविले अब पार्टीको संसदीय दलको नेताबाट पनि हट्नुपर्नेछ । सांसदबाट निलम्बन भएसँगै उनी पार्टी सभापतिसँगै दलको नेतासमेत रहने छैनन् । रास्वपाले दलको नेता पनि तोक्नुपर्ने हुन्छ । रविविरुद्धको मुद्दाबारे अदालतमा केहीदिन बहस हुनेछ। उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएमा उनको राजनीतिक यात्रा अनिश्चित नै भयो । यदि उनी धरौटीमा रिहा भएपनि उनले यो मुद्दाको किनारा नलागेसम्म सभापति र संसदीय दलको नेता भने रहिरन पाउने छैनन् । किनकी उनको सांसद पद निलम्बन भइसकेको छ ।
हुन त रास्वपाले पार्टीको पहिलो महाधिवेशन २०८२ साल वैशाख २५ देखि २७ सम्म गर्ने प्रस्ताव गरिसकेको छ । यो प्रस्ताव गत असोजमा गरिएको हो । तर पछिल्लो विकसित परिस्थितिमा महाधिवेशन पनि नहुने हो कि भन्ने अन्यौल छ । तर नेताहरुले महाधिवेशन गर्ने बताउँदै आएका छन् । यदि महाधिवेशन भइहालेमा डीपी अर्यालको भनाईमा सभापतिमा कोही उम्मेदवार हुने छैनन् । किनकी उनले रवि लामिछाने जिउँदो रहेसम्म सभापति अरु कोही नहुने बताइसकेका छन् । सभापति पद भने भरतले राम वनबास जाँदा रामको खराउको पुजा गरेजस्तै राखिनेछ । अन्य पदमा चाहिँ निर्वाचन होला । रास्वपामा अर्याल र वाग्ले गरी दुई धार रहेको बताइन्छ । यदि महाधिवेशन भएको अवस्थामा सभापतिमा उम्मेदवारी दिएर अरु कुनै नयाँ सभापति आउँछन् कि ? महाधिवेशन नै अनिश्चित हुने हो, त्यो भने रास्वपाका कार्यवाहकहरुको निर्णय नै पर्खनुपर्ने छ ।
