ककनीमा थाङ्का लेखन तालिम

काठमाडाैँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम ककनीमा सुरु भएको छ । आर्थिक वर्ष २०८१/८२ को  कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको समितिले जनाएकाे छ ।

नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो । तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ ।

प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताए ।

यस्तै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिक्नेछन् भन्ने विश्वास लिइएको बताए । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’

अध्यक्ष शेर्पाले यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए । यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो ।

थाङ्का नेपाली कला र संस्कृति मात्र नभएर बौद्ध धर्मको महत्त्वपूर्ण पाटो पनि हो । यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ । ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले बताए ।

तालिमले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी भएका छन् ।

कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम साङ्मो, समितिका म्हारसाङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।

नेपालकाे बाैद्ध धर्मसँग सम्बन्धित भिडियाेहरूकाे लागि नेपाल समाजकाे युट्युव च्यानलमा जानुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *