निजामती अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू

काठमाडौं । चीन सरकारकाे टर्न कि प्राेजेक्ट अन्तर्गत अनुदान सहयाेगमा निर्माण भएकाे निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरिएकाे छ ।

अस्पतालले आजदेखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छन सोङले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ,’ मन्त्री गुप्ताले भने, ‘त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’

परम्परागत चिनियाँ चिकित्सा हजारौँ वर्ष पुरानो विधि भएको चर्चा गर्दै उनले सिभिल अस्पतालमा सकेसम्म धेरै विधिहरूको प्रयोग गरी विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । विश्वभर स्वास्थ्य सेवामा नवीन प्रविधि र परम्परागत ज्ञानको संयोजन बढिरहेको र त्यसले स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उनकाे विश्वास छ ।

सो अवसरमा उनले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे । अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले निरन्तर सहयोगको अपेक्षा गरेका छन् । ‘यस अस्पतालमा सेवा प्रवाहका निम्ति आउनुभएका चिनियाँ विशेषज्ञहरूलाई धन्यवाद दिन चाहान्छु,’ मन्त्री गुप्ताले थपे, ‘इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगलान दिने विश्वास लिएको छु ।’

साे अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन साेडले चीन सरकारकाे सहयाेगमा नेपालमै पहिलाे पटक भरतपुरस्थित बीपी काेइराला स्मृति क्यान्सर अस्पतालमा स्थापना गरिएकाे परम्परागत चिनियाँ चिकित्सा सेवा राजधानी काठमाडाैँमा विस्तार गर्न पाएकाे प्रशन्नता व्यक्त गरे ।

राजधानीमा सञ्चालन गरिएकाे साे सेवा नेपाल र चीनबीच चिकित्सा क्षेत्रकाे अादानप्रदानमा भएकाे एक महत्वपूर्ण अध्याय रहेकाे उल्लेख गर्दै राजदूत छनले निजामती अस्पतालकाे सेवा विस्तार गर्दै विश्कै उत्कृष्ट नमूना अस्पतालकाे रूपमा विकास गर्ने लक्ष्य रहेकाे बताए ।

नेपालमा प्रशस्त जडिबुटी रहेकाे र यसकाे खेती विस्तार गरी चीनमा निर्यात गर्न सके मुलुककाे अन्तर्राष्ट्रिय व्यापार घाटा कम गर्न सकिने उनकाे विचार थियाे ।

कार्क्रममा चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य दूत से यू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी थिए ।

नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा निजामती अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *