‘थ्याङ्क यु सो मच पारस खड्का’

काठमाडौं । ‘थ्याङ्क यु सो मच पारस खड्का’, शनिबारदेखि सामाजिक सञ्जालको वालमा यस वाक्यांश चौतर्फी देख्न सकिन्छ । झन्डै २५ वर्षदेखि नेपाल क्रिकेटको सेवा गरिरहेका पारस खड्काले फेरी एकपटक नेपाली समर्थकको मन जितेका छन् । पहिले खेलाडीको रुपमा नेपाली क्रिकेटको सेवा गरेका पारस अहिले प्रशासकको भूमिकामापनि सफल देखिएका छन् ।

यसअघि खेलाडीको रुपमा नेपाललाई विश्व क्रिकेटमा चिनाउन मुख्य भूमिका खेलेका पारस यसपटक प्रशासकको रुपमापनि चुकेनन् । नेपाली क्रिकेटको हरेक सुख र दुखको क्षणको साक्षी बन्दै गत वर्ष सेप्टेम्बरमा नेपाल क्रिकेट संघ (क्यान)को सचिवको रुपमा निर्वाचित भएका पारसकै प्रमुख भूमिकामा क्यान नेपाली खेलकुद जगतको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) आयोजना गर्न सफल भयो ।

पारसको आगमनपछि संघको व्यवस्थापनतर्फ धेरै फरक आएको अनुभव गर्न सकिन्छ । पारस मात्र नभई हालको कार्यकालका अध्यक्ष चतुर बहादुर चन्दसहित सबै सदस्य धन्यवादका पात्र बनेका छन् । पारस एक्लैले प्रतियोगिता सञ्चालन गरेको त हैन । क्यानको आयोजनामा भएको पहिलो फ्रेन्चाइज प्रतियोगिता सफलताका साथ समापन गर्न सिङ्गो संघ र सम्बन्धित निकायकै महत्त्वपूर्ण योगदान रहेको छ ।

तर पारसको भिजन र क्यानको मिसनमा प्रतियोगिता आयोजना सम्भव भएको हो भन्नेमा कसैको दुई मत भने छैन । खेलाडीको बेलामा खेलाडीको पिडा र मर्म बुझेका पारसले व्यवस्थापनमा आएपछि आफुले गर्नुपर्ने काम गरे ।

हुन त उक्त पदमा यसअघिपनि थुप्रै व्यक्ति आइसकेका थिए । तर कसैलेपनि सोचेअनुरुप काम गर्न सकेनन् या गर्न चाहेनन् कि भागबन्डा मिलेन । तर पारसले आफ्नो कार्यकालको पहिलो १३ महिनामै नेपालकै ठुलो फ्रेन्चाइज प्रतियोगिता आयोजना गरेर देखाइदिए ।

यता क्यानका अध्यक्ष चन्दले पनि पारसको एनपीएल प्रतिको हुटहुटी मज्जाले बुझे र लिगको पुरै जिम्मेवारी पारसलाई सुम्पिए । पारसको लागि एनपीएल कतिको महत्त्वपूर्ण थियो, त्यो बुझ्न उद्धाटन सत्रको भिडियोमा देख्न सकिन्छ । प्रतियोगिताको उद्धाटन सत्रको क्रममा विभिन्न पदाधिकारीको पछाडी उभिएका पारसको आँखा रसाएका थिए । मैदानमा उपस्थित दर्शकहरुले उनको नाम चिच्याउँदा प्रतियोगिता आयोजनाको लागि गरेको दुखलाई सम्झेर उनको आँखाबाट खुशी र गर्वको ढिक्का झरे । जसका कारण उनी सबैको लागि धन्यवादसँगै उदाहरणका पात्र बनेका छन् ।

सहि मान्छे, सहि ठाउँमा पुगेर आफ्नो जिम्मेवारी लिएर काम गर्यो भने एउटा संस्थालाई कतिको सफल बनाउन सकिन्छ भन्ने कुरा पारसले देखाइदिएका छन् । पारसकै अनुसार सधैं घाटामा रहने क्यान अहिले नाफाको बाटोमा छ । झन् शनिबार सम्पन्न एनपीएलले क्यानलाई अझै माथि मुर्याउन मद्दत पक्कै गर्नेनै छ ।

क्यानप्रति अब नेपाली समर्थकको पनि आशा पलाएको छ तर आशाका किरण भने पारसनै हुन् । क्यानमा पारस रहे नेपाली क्रिकेट उज्ज्वल दिशातर्फ लम्कनेमा क्रिकेट प्रेमी निर्धक्क छन् । सिमित आर्थिक, भौतिक स्रोत र साधनका बाबजुत प्रतियोगिता सफलताक साथ आयोजना गरेका पारस यस कार्यकालपछि क्यानमा रहलान कि नरहलान् त्यो त भविष्यले बताउँला तर उनले बाटो भने देखाइदिएका छन् । अब बाँकी काम क्यान र मन्त्रालयलाई  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *