काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएको कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् । अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र राजावादीहरू एकजुट भएर मुलुक जोगाउने आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘भ्रष्ट व्यवस्था र शासकहरूले देशलाई खोक्रो पारिसकेका छन् । यो बेलामा सबै शक्तिहरू एक ठाउँमा आएर मुलुक जोगाउन आन्दोलन गर्न ढिलाई गर्नु हुँदैन,’ राप्रपा महामन्त्री राणाले सोमबार भने । ‘तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन । अहिलेको व्यवस्था र प्रणालीबाट मुलुक बन्न पनि सक्दैन र बच्न पनि निकै गाह्रो छ ।’
भारतको मुम्बईमा उपचारको क्रममा रहेका राणाले वक्तव्य जारी गर्दै दिनप्रतिदिन मुलुक समस्याको चक्रब्यूहमा भासिदै गएको भनेर चिन्ता व्यक्त गरेका छन् । ‘सरकार राष्ट्रिय मुद्दा र समस्याहरूमा केन्द्रीत हुनुको सट्टा व्यक्तिगत प्रतिशोध साँध्न व्यस्त छ ।’
समान विचार भएका राजनितिक दल, संघ संगठन, अभियान, अभियन्ताहरूसँग वार्ता, छलफल गरी एकतावद्ध भएर अघि बढ्ने वातावरण राप्रपाले तत्काल निर्माण गर्नुपर्ने भन्दै महामन्त्री राणाले जोड दिएका छन् । ‘अब अगुवाई राप्रपाले नै गर्नुपर्छ ।’
राप्रपाको बस्न लागेको कार्यसम्पादन समिति बैठकमा यस विषयमा गम्भीर छलफल हुनुपर्ने उनको राय छ । ‘हामी फराकिलो ढंगले देशलाई केन्द्रमा राखेर बुद्धिमत्तापूर्वक अघि बढ्नुको विकल्प छैन । सानातिना कुरामा अल्झिने, पूर्वाग्रह र संकिर्णता बोक्ने छुट हामीलाई छैन । एकतावद्ध हुँदै अघि बढौं । हाम्रो विचार र बाटो नै मुलुकको लागि सुहाउँदो छ,’ राणाले भने ।
मुम्बईमा स्वास्थ्यलाभ गरिरहेका राणाले स्वास्थमा उल्लेखनीय सुधार आएको र अब चाँडै स्वदेश फर्कने बताएका छन् । आफ्नो स्वास्थ्यका बारेमा चिन्ता चासो लिने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।