सन् २०१२ देखि बन्द टर्कीको दमास्कसस्थित दूतावास असदको पतनपछि पुनः खुल्यो

दमास्कस । विद्रोहीले लामो समयदेखि सिरियामा शासन गर्दै आएका नेता बसर अल असदलाई सत्ताच्युत गरेको एक सातापछि टर्कीएले शनिबार दमास्कसमा रहेको आफ्नो दूतावास पुनः खोलेको छ ।

नयाँ कार्यवाहक राजदूत बुरहान कोरोग्लुको उपस्थितिमा कुटनीतिक नियोगमाथि टर्कीएको झण्डा फहराइएको पत्रकारले बताएका छन् ।

विद्रोहीको संक्रमणकालीन सरकारका प्रतिनिधिहरू अन्य कूटनीतिक नियोगहरू पनि रहेको राजधानीको रावदा जिल्लामा रहेको दूतावासमा आयोजित समारोहमा उपस्थित थिए ।

इस्लामवादी नेतृत्वको विद्रोही गठबन्धनले नोभेम्बर २७ देखि शुरू गरेको निर्णायक आक्रमणमा सरकारी नियन्त्रणबाट केही भूभाग कब्जा गरेको र अन्तिममा गत आइतबार राजधानी दमास्कस पनि कब्जा गरेको थियो ।

टर्कीएले लामो समयदेखि सिरियामा विद्रोही समूहलाई समर्थन गर्दै आएको छ ।

टर्कीएका विदेशमन्त्री हाकान फिदानले कोरोग्लु र कर्मचारीहरू दमास्कसका लागि प्रस्थान गरेको र अर्को दिन दूतावास ‘सञ्चालनमा’ आउने बताएका छन् ।

सिरियाली गृहयुद्ध सुरु भएको एक वर्षपछि सन् २०१२ मार्च २६ मा टर्कीए सरकारले असदलाई पदबाट हट्न आह्वान गरेपछि बिग्रँदो सुरक्षा स्थितिका कारण दमास्कस दूतावास बन्द गरिएको थियो।

टर्कीएका गुप्तचर प्रमुख इब्राहिम कालिन बिहीबार दमास्कसमा रहेको टर्कीएका टेलिभिजन च्यानलहरूले जनाएका छन् ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले सिरियामा विद्रोहको नेतृत्व गरी विजय हाँसिल गरेकोे हयात तहरिर अल–साम समूहसँग ‘प्रत्यक्ष सम्पर्क’ गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनाएका छन् । अमेरिकाले उक्त समूहलाई आतङ्कवादीको सूचीमा राखेको छ ।

उनले जोर्डनमा सिरियाबारे भएको छलफलपछि पत्रकारसँगको भेटमा भने, “हामी एचटिएस र हन्य पक्षसँग सम्पर्कमा छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *