नेतृत्वको परीक्षा

कुसिनारा, मध्यरातमा महाप्रायणको निम्ति बुद्ध प्रतिक्षारत थिए । भिक्षु र मल्लहरुले घेरिएर बसेका थिए ।१२० वर्षको नेटो काटी सकेका परिव्राजक सुभद्रले यो खबर पाउन साथै उनमा बडो छटपटी भयो । उनले सोचे, बुद्ध जस्ता महापुरुष दिनहु कहाँ जन्मिन्छन् र ? ‘धर्म सम्बन्धि म मा रहेका आशंका निवारण हुने मौका अब मिल्ला या न मिल्ला ?’ यसर्थ उनी जुरुक्क उठेर बुद्धलाई भेट्न भनेर शालवन आए । आनन्दलाई भेटेर उनले भने, ‘आनन्द , म बुद्धलाई भेटेर मेरा केही आशंका दूर गर्न चाहान्छु ।’ आनन्दले सम्झाए, ‘सुभद्र ! यो भगवानसँग शंका निवारण गर्ने समय होइन । उहाँ यतिखेर निर्वाण शैय्यामा हुनुहुन्छ । अब उहाँलाई कष्ट नदिउँ ।’ सुभद्रले फेरि पनि आग्रह गरे ।

उनीहरुको विवाद बुद्धको कानमा पर्यो । बुद्धले आनन्दलाई भने, ‘सुभद्रलाई आउन देउँ ।’ सुभद्र बगलमा पुगेर बुद्धको करुणामयी शान्त स्वरुप देख्न पुग्छन् । तथागत सुभद्रलाई उपदेश दिन्छन् । उनी प्रफुल्ल हुन्छन् । उनी बुद्धलाई अनुनय गर्छन्, ‘भगवान मलाई भिक्षु संघमा शरण दिनुहोस् । मलाई भिक्षु बनाउनुहोस् ।’ बुद्धले उनलाई सम्झाउँछन्,’ संघको कायदा कानुन अनुसार अरु कुनै सम्प्रदायमा प्रवर्जित मानिस संघमा प्रवेश गर्न चार महिना कुर्नु पर्दछ ।’ सुभद्र आफ्नो अठोट सुनाउँछन्, ‘चार महिना त के म चार वर्षसम्म प्रतीक्षा गर्न तयार छु ।’ उनको यो उमेर र यस्तो अठोट देखेर बुद्धले आनन्दलाई अह्राए,’ उसो भए, आनन्द ! सुभद्रलाई अहिल्यै प्रवर्ज्या गर !’ यसरी सुभद्र बुद्धका अन्तिम शिष्य र आर्हत बने । लगत्तै त्यहाँ उपस्थित ५०० मल्लले पनि बौध धर्म ग्रहण गरे ।

तत्क्षण ‘यो उमेरमा मैले बुद्धको महाप्रायण आफ्नै आँखाको सामुन्ने हेर्नु वाञ्छित न हुने’ ठानेर सुभद्रले बुद्धलाई अनुनय गरे,’ भगवान ! के म तथागत भन्दा अघि यस संसारबाट बिदा हुन सक्छु ?’ बुद्धले अनुमति दिए । त्यसको केही छिनमै सुभद्र दिवंगत भए । यो सब देखेर सारा भिक्षु आश्चर्य चकित भए । बुद्धले तिनलाई एउटा कथा सुनाए । ‘उहिलेको कुरा हो । एउटा उपत्यकामा मृगहरुको थुम्बा चरण गर्दथ्यो । उसका साथमा हजार मृगको बथान थियो । ऊ दूरदर्शी, चलाक र तीक्ष्ण बुद्धिको थियो । एक दिन एउटा शिकारीले उसलाई देख्यो । उसले राजालाई गएर सूचना गर्यो । राजा दलबलसहित आएर मृगलाई घेराबन्दी गरे । थुम्बाले सोच्यो मैले सुरक्षा नदिने हो भने बाँकी सब मृग मारिन्छन् ।

उसले नजिकै तेजधारमा बगिरहेको नदी देख्यो । उसलाई डर पनि भयो, नदीमा हाम फाल्ने हो भने कतै बगाउने त होइन ?! तैपनि आफू बुरुक्क उफ्र्यो र नदीमा हाम फाल्यो । माझ धारमा पुगेपछि अरुलाई आदेश दियो, ‘तिमिहरु पनि हाम फाल, मेरो ढाडमा टेकेर अर्को किनारामा पुग्ने गरी । यो नै अन्तिम उपाय हो, नत्र सबका सब मारिन्छौ ।’ एक पछि अर्को गर्दै मृगहरु हाम फाल्न थाले । मृगका तिखा खुरले उसको ढाड छिया छिया भयो । ऊ दाह्रा किट्दै सही रह्यो । सबका सबले नदी पार गरे । तब पनि कोही बाँकी छन् कि भनेर एकसरो नजर लगायो । एउटा पाठो डराएर उतै रहेको देख्यो । फर्केर गएर पाठोलाई पिठ्यूँमा राख्यो र नदी पार गरायो । सबै सकुशल उम्किन सकेकोमा ऊ कम्ता खुशी भएन ! उसले आफ्नो रगतपच्छे भएको ढाडको वेदना पनि बिर्स्यो । यो लरतरो बोधिसत्व होइन !’ ‘हेर भिक्षु हो, ति मृग भनेका अरु कोही नभएर यिनै मल्लहरु हुन् । पाठो चाहिँ सुभद्र । म चाहिँ त्यै थुम्बा हुँ । नेतृत्वको काम मार्ग दर्शन गर्नु हो, अरुलाई तार्नु हो । कहाँ अरुको बुई चढ्नु हो र ?! आत्मकेन्द्रित त बनिया हो, कहाँको नेता हुनु नि !

पूर्वराजदूत टंक कार्कीको फेसबुकबाट

 

मूल श्रोत: W. W. Rockhill, The Life Of The Buddha And Early History Of His Order

Leave a Reply

Your email address will not be published. Required fields are marked *