नारायण गाउँले ।
आइसिस भन्ने मुश्लिम अतिवादी ग्रुपबारे सुन्नुभएको होला । अल–कायदा भन्ने त झन् नसुन्ने कुरो भएन । यिनै दुई कुख्यात ग्रुपसँग जोडि़एर जन्मिएको HTS भन्ने एउटा इश्लामिक विद्रोही ग्रुपले आज मध्यपूर्वी देश सिरियामा आंशिक कब्जा जमाएको छ ! जसलाई युएनदेखि युरोप र अमेरिकासम्मले आतङ्ककारी मानेका छन् । तर सिरियामा यतिबेला कहिल्यै नदेखिएको खुशी छ । मान्छेहरू तीनचार दिनदेखि सडकमा निस्केर स्वतन्त्रताको सास फेरिरहेका छन् । जताततै दीपावलीको माहोल छ । कट्टर इश्लामिक शासन र निरङ्कुशताको प्रतीक मानिने धार्मिक अतिवादी ग्रुपले शासन सत्ता हत्याउँदा आमजनतामा भने लोकतन्त्र र चरम स्वतन्त्रताको अनुभूति हुँदै छ । विश्वभर विस्थापित सिरियालीहरू आशावादी बनेका छन् । यतिसम्म कि सुन्नी इश्लामिक मिलिशियाले सत्ता कब्जा गर्दा त्यहाँ रहेका क्रिश्चियनदेखि शियासम्मका धार्मिक समूह र सम्प्रदाय समेत उत्साहित र खुशी देखिन्छन् ।
झट्ट हेर्दा हुनुपर्ने उल्टो थियो । एक दशकभन्दा लामो गृहयुद्ध, लाखौं नागरिकको मृत्यु, विश्वकै कुख्यात र क्रूर इश्लामिक मिलिशिया, आधा जनसङ्ख्या शरणार्थी र शहरका शहर खण्डहर मात्रै बचेको सिरियामा त्यस्तै धार्मिक अतिवादबाट जन्मिएको एउटा ग्रुपले सत्ता कब्जा गर्दा झन् बढ़ी पीडा, डर र अन्योल हुनुपर्ने थियो । न त्यो ग्रुपमा लोकतन्त्रको चर्चा छ, न अनुभव छ । न धूलिसात बनेको सिरियन अर्थतन्त्र उकास्ने ठोस योजना छ, न विज्ञ छन् । न शिक्षक र वैज्ञानिक । छन् त धार्मिक शिक्षा र दर्शनबाट हतियार उठाएका लड़ाकू । सुन्दै डरलाग्दो !
तर ग्राउण्डमा भने डरको ठाउँ उत्सव र खुशीले लियो । मान्छेको आँखामा आँसु त बग्यो तर खुशीको । किन त्यस्तो भयो होला ? एक जना वृद्ध महिलाले अन्तर्वार्तामा भनेकी थिइन्, बसर अल असदको शासन यति अमानवीय र क्रूर थियो कि त्यसभन्दा बढ़ी क्रूरताको अनुमान गर्न सकिन्न । अब जे आउँछ त्यो त्यसभन्दा खराब हुन सक्दैन । खराबको पराकाष्ठा भोगिसकेकाले अब आउने शासनसँग डर छैन, बरु आशा छ । स्वास्थ्य, शिक्षा, पानी, आवास र सुरक्षा जस्ता आधारभूत कुरा पनि नभएको सिरियामा थप खराब के नै होला र ?
आधा शताब्दीभन्दा लामो पारिवारिक, निरङ्कुश, चरम आततायी र क्रूर शासन ढलेकोमा विश्वभरका सिरियाली प्रशन्न छन् । ढलाउनेको ब्याकग्राउण्ड भविष्य निर्माण गर्ने क्षमताबारे तिनलाई खास चासो छैन । सके बन्ला, बिग्रिन बाँकी केही छैन ।
यो अवस्था र दृश्य साँच्चिकै महत्त्वपूर्ण छ । एउटा सीमासम्म नैतिकता, आदर्श, योग्यता र स्वच्छताको बहस हुने रहेछ । तर सीमा मिचिँदै गयो भने ती सबै अर्थ र प्रसङ्गहीन बन्ने रहेछन् ।
HTS का नेता जो हिजो अल कायदाका कारिन्दा थिए र जसले इराकदेखि सिरियासम्म आतङ्कको कहर बर्साएका थिए, आज स्वतन्त्र र समावेशी सिरियाको आशा र भरोसाका चित्र भएका छन् । आज उनको बन्दूकमुनि सिरियन नागरिकले अद्भुत शान्तिको अनुभव गरेको देखिन्छ । इरानदेखि रूस र अमेरिकासम्म सबैको तारो बनेको यो ग्रुपले आफू अलकायदाबाट धेरैअघि नै अलग भएको र समावेशी भएको दाबी गर्दै आएको छ । नयाँ र स्वतन्त्र सिरिया बनाउने यसको घोषणा छ । तैपनि विश्वभरका इश्लामिक अतिवादी ग्रुपले खुला रूपमा दिएको बधाई र मनाएको विजयी हर्षले प्रश्नहरू पनि उठाएकै छन् ।
शासकहरूले बुझ्न पर्ने रहेछ, यदि तिनको अकर्मण्यता, लूट, बेथिति र भ्रष्टाचारले सीमा नाघ्यो भने वैकल्पिक राजनीतिका लागि दूधले धोएको र टलक्क टल्किने नेतामात्रै आउँछ भन्ने हुँदैन । हामी जस्तै जस्तै त रहेछ भनेर ङिच्च हाँस्दै ढुक्क बस्न नहुने रहेछ । हामी हदभन्दा बढ़ी फोहर भयौं भने फोहर नै सही अलि कमवाला अगाडि आउन सक्ने रहेछ । जति फोहर भए पनि भएका शासकभन्दा सफा देखिने अवस्था आयो भने जनताले भरोसा गर्न सुरु गर्छन् । आखिर हिलो बनाएको त हामीले नै हो । अलिकति फोहर सबैमा लाग्यो होला भन्ने हुँदो रहेछ । नयाँको त भोलि धुन पनि सकिएला, हाम्रो त कटकटिएर लाहाछाप भइसक्यो । यो घटना नेपालका लागि पनि उदाहरणीय हुन सक्छ कि ? सिरियाली नागरिकलाई बधाई !