काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार बिहान भएको खेलमा जनकपुर बोल्ट्सलाई ७२ रनले हराउँदै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएको हो । जनकपुरको लागि जोश्वा ट्रोम्पले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमको लागि हर्मित सिंह, दीपेन्द्र सिंह एरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिँदा सैफ जाइब, नरेन साउद र स्कट कुग्गेलेजनलेएक्क/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिम ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान ८ अंक जोडको जनकपुर दोस्रो स्थानमा रहेको छ ।