लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ। लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा गरिएको हो।
२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षदेखि रोकिएको थियो। ४१औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन्।
उक्त अवसरमा उपाध्यक्ष डा. लामाले भारतका ४१औँ शाक्य ठ्रिछेनको उपस्थितिमा विश्वकै ठुलो शाक्य मोन्लम पूजा गर्न पाएकोमा खुसी लागेको बताए। उनले आफू कोषको उपाध्यक्ष भएर आएपछि लुम्बिनीमा आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजा गर्ने गरेकाे बताए। शाक्यमोन्लम पूजाको निरन्तरताले थप ऊर्जा पाएकाे बताए।
उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषसहित लुम्बिनी सांस्कृतिक नगरपालिका, होटेल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएकोसमेत बताए। उनले लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। ‘विश्वकै ठुलो गुरुको उपस्थितिमा लुम्बिनीमा शाक्यमोन्लम पूजा हुनु ठुलो कुरा हो,’ उपाध्यक्ष डा. लामाले भने, ‘यसको निरन्तरताका लागि मैलै विशेष पहल गरेको छु, अब यसलाई निरन्तरता दिनुपर्छ।’
आठ वर्षसम्म भारतमा गरिएको पूजा उपाध्यक्ष डा. लामाको विशेष पहलमा मोन्लम पूजाले निरन्तरता पाएको हो। पूजामा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूको उपस्थिति रहेको छ।
बिहानैदेखि लुम्बिनीमा गरिने बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ। जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको छ। हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिरपरिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ।
पूजामा लामा, भिक्षु, भिक्षुणी, उपासक एवं उपासिकाहरूको उपस्थिति छ। शुभारम्भ कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खान, लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्कालगायतको उपस्थिति रहेको थियो।