शंकर पोखरेल ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरियो । जबकी त्यतिवेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि बढायो । सोही अनुसार माओवादी निकटका चित्रबहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरुप २ नम्बरमा रहेका बराल भीसी बनाइए । सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो । त्यहाँ पनि सोही अनुसारको प्रकृयाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।
यतिवेला त्रिभुवन विश्वविद्यालयका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लिन छन् । त्यसलाई उनले मेरिट्रोकेसीको जामा लगाइदिएका छन् । अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरु धुवाँधार रुपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन् ।
के साच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए उनले छनौट कमिटीमा कसलाई राख्ने भन्ने कुरामा कुनै चासो वा हस्तक्षेप गर्ने थिएनन् । प्राज्ञिक नेतृत्वको जिम्मेवारीमा रहेका रेक्टरलाई छनौटको नेतृत्व दिन सक्थे । वा प्राज्ञहरुको रोष्टर तयार गरेर लट्रिका आधारमा छनौट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुबै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनौट हुनेगरी छनौट समिति गठन गरे । सोही अनुसार छनौटका मापदण्ड तयार गर्न लगाए ।
विश्वविद्यालयमा एउटा निश्चित बैचारिक समुहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासायी हुनेछ ।
त्यसैले मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गरौं ! सम्पूर्ण कामलाई खुला र पारदर्शी ढंगले विश्वविद्यालयको दिर्घकालिन हितलाई ध्यानमा राखेर अघि बढाऔं !!