काठमाडौं । मंसिर १६ गते ४१ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजा फर्काउँछु भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी अनि आगामी ८४ सालको निर्वाचनमा एकल बहुमतको सरकार बनाउँछु भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको हरिविजोग नै भएको छ । राप्रपाका उम्मेदवार कतै पनि प्रतिस्पर्धामा आउन सकेनन् । यतिसम्म भयो कि राप्रपाका आठ जना उम्मेदवारले त १० मत पनि कटाउन सकेनन् । यसरी १० मत नल्याउने मध्ये धेरैको मत दुई तीनमै सीमित भयो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा राप्रपाका उम्मेदवारले १० मत त कटाए तर ३० मत पनि ल्याउन सकेनन् । कन्काइ नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा राप्रपाका उम्मेदवारले जम्मा २६ मत पाए ।
एक सिटमा पनि जित्न नसकेपछि यतिबेला राप्रपा अनि राप्रपाको नेतृत्वमाथि प्रश्न उठेको छ । धेरैले राजा फर्काउने र मुलुकलाई हिन्दू राष्ट्र घोषणा गर्ने पार्टीको हालत देखेर व्यंग्य पनि गरेका छन् ।
यसरी पार्टीलाई व्यंग्य गरिएपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले पार्टीको भोट नघटेको दाबी गरेका छन् । उनको भनाई छ, ‘उपनिर्वाचनमा देशभरि राप्रपाको भोट घट्यो भनेर जुन हल्ला बजारमा फैलिएको छ राप्रपाको भोट घटेको होइन । अघिल्लो चुनावको तुलनामा बढेको छ । २०७९ को स्थानीय तहको चुनावमा अहिले उपनिर्वाचन भएका स्थानमा जम्मा राप्रपाको २,९०६ भोट थियो । तर अहिलेको उपनिर्वाचनमा सोही स्थानमा ३,६९१ छ । स्थानीय तहको उपनिर्वाचन अनुसार राप्रपाको २७ दशमलव ०१ प्रतिशतले बढेको हो । स्वभाविक रूपमा हामीले चुनाव जित्न सकेनौं होला तर अहिलेको उपनिर्वाचनमा अघिल्लो स्थानीय तहको चुनावभन्दा झण्डै २७ प्रतिशत बढी भोट हामीले हासिल गरेका छौँ। काठमाडौँमा बस्ने नेता बन्ने तर आफ्नो क्षेत्रमा नजाने राप्रपाका नेता तथा कार्यकर्तालाई अब पार्टीले स्पष्टीकरण सोध्नुपर्ने अवस्था आएको छ ।’
राप्रपाको मात्र होइन, चुनावी परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको पनि उपनिर्वाचनमा हालत खराब देखिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भइन् । तर अन्यत्रै कतैपनि रास्वपाले निर्वाचन जित्न सकेन । उसले कीर्तिपुरको मेयरमा त उम्मेदवार नै उठाउन सकेन । चुनावी परिणामपछि रास्वपाले उपनिर्वाचन पहिलो अनुभव रहेको भन्दै चित्त बुझाएको छ । उसले भनेको छ, ‘हाम्रा लागि यो चुनाव एक नयाँ अनुभवका रुपमा रह्यो ।’
राजनीतिक विश्लेषक मुमाराम खनाल चुनावमा जितेर ‘राजा’ ल्याउन असम्भव छ भन्ने सन्देश राप्रपालाई मतदाताले दिएको टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘राजनीतिमा ‘राजावादी’ एजेण्डा लिएर चुनाव लड्न सकिन्छ। तर चुनावमा जितेर ’राजा’ ल्याउन असंभव छ। कदाचित बिषम परिस्थितिले ठूला दलसँग सहमति गरेर ‘राजा’लाई कुनै भूमिकामा फर्काउन पनि सकिएला । तर चुनावबाट ‘राजा’ ल्याउने राप्रपाको प्रयत्न बिरबलको खिचडी मात्र हो, पाक्दैन । किनकि राप्रपाले धेरै मत पाउँदा खसेको मतको ७% र थोरै पाउँदा ४% हो । यसरी चुनावबाट राजा कसरी आउँछन् ?’
अर्का राजनीतिक विश्लेषक एवं लेखक खगेन्द्र संग्रौला उपनिर्वाचनको परिणामले नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि सुखद नभएको बताउँछन् । उनी भन्छन्, ‘खण्डे चुनावमा रास्वपाको एक सिट जित, ९६ प्रतिशत उम्मेदवारको जमानत जफत । राप्रपाका जम्मै उम्मेदवारको जमानत जफत, लिङ्देनको वडामा जम्मा २६ मत । भन्देखिलाई रास्वपाको मिसन चौरासीको धाकधक्कु चेट्, राप्रपाको राजा फर्काउने दाउ चेट् । अब रास्वपा संगठन बनाउन लागोस्,र राप्रपा वनवास जाओस्।’