काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमण पूरा आज आज स्वदेश फर्किँदैछन् । प्रधानमन्त्री चीन जानुअघि नै बीआरआई परियोजनाबारे नेपालमा ठूलै बहस चलेको थियो । अनि सत्तारुढ एमाले र कांग्रेसले बीआरआई परियोजनाबारे मतैक्यता पनि बनाएका थिए । परियोजना ऋणमा लिने कि अनुदानमा भन्नेमा दुई दलबीच मतभेद थियो । तर अन्तिम समयमा आएर दुबै दल अनुदानमा भन्ने सहमतिमा पुगेका थिए । अनि नेपालले चीनलाई अनुदानमा प्रस्ताव गरेको थियो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच मंगलबार नौ वटा विषयमा द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । तर ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा भने हस्ताक्षर भएन । प्रधानमन्त्रीले मंगलबार चिनियाँ समकक्षी र राष्ट्रपति सीसँग छुट्टाछुट्टै भेट पनि गरे । प्रधानमन्त्री ओलीसँगको भेटपछि राष्ट्रपति सीले चीनले नेपाललाइ नौ अर्ब बराबरको अनुदान दिने घोषणा पनि गरे । तर बीआरआईमा सम्झौता नभएपछि नेपाली राजनीति वृत्तमा एक प्रकारको सन्नाटा नै छाएजस्तो भयो । अझ सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु यसप्रति बढी चिन्तित देखिएका थिए । कतिपयले प्रधानमन्त्रीको भ्रमण असफल भएको टिप्पणीसमेत गरेका थिए ।
तर बुधबार दिउँसो नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भयो । बेइजिङमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपालले चिनियाँ पक्षलाई सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित एक दर्जन परियोजना प्रस्ताव गरेकोमा १० परियोजना फ्रेमवर्कमा परेका छन् ।
‘बीआरआई फ्रेमवर्क’मा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना परेका छन् ।
‘बीआरआई फ्रेमवर्क’मा परेका परियोजनाः
१. टोखा–छहरे सुरुङमार्ग
२. हिल्सा–सिमकोट सडक परियोजना
३. किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५. डडेलधुरास्थित अमरगढी सिटी हल
६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७.मदन भण्डारी विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
यो समाचार सार्वजनिक भएपछि मंगलबारको सन्नाटा बुधबार एकाएक खुसीयालीमा परिणत भएको देखिन्थ्यो । ‘बीआरआई फ्रेमवर्क’मा हस्ताक्षर भएको खबरलाई सत्तारुढ त्यसमा पनि एमाले नेताहरुले सामाजिक संजालमा शेयर गरेर ठूलो उपलब्धिको रुपमा चित्रण गरे ।
एमोले सचिव योगेश भट्टाईले समाजिक संजालमा लेखे, ‘प्रम केपी शर्मा ओलीको मित्र राष्ट्र चीन भ्रमणका दौरानमा नेपाल र चीन सरकार बीच आज बेल्ट एण्ड रोड सहकार्य (बीआरआई)को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । यसले बीआरआईका बारेमा भएका बहसलाई सकारात्मक निष्कर्षमा पुर्याएको छ भने नेपाल र चीन बीचको विकास सहकार्यमा दीर्घकालीन ढोका खुलेको छ।’ यसरी लेख्ने एमाले नेता भट्टराई मात्र होइन थुप्रैले लेखेका छन् ।
तर विज्ञ तथा विश्लेषकहरुले बीआरआईमा भएको हस्ताक्षरलाई विभिन्न ढंगले व्याख्या गरेका छन् । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले बीआरआईमा हस्ताक्षर प्रधानमन्त्रीको चीन भ्रमणको सफल कदकका रुपमा लिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘बीआरआईमा अनुदान मात्र’ भन्ने अनुपयुक्त अडानलाई चिरेर आयोजना विशेषको प्रकृति अनुसार ऋण, लगानी, अनुदान तथा अन्य वित्तिय व्यवस्था हुन सक्ने गरी बीआरआई फ्रेमवर्कमा नेपाल–चीन संझौता गर्न प्रम ओलीको चीन भ्रमण सफल भएको छ। भ्रमण दलका सम्बन्धित सबैलाई बधाई !’
विद्या भण्डारी राष्ट्रपति हुँदा प्रेस सल्लाहकार रहेका लेखक टीकाप्रसाद ढकाल बीआरआईमा सम्झौतालाई सकारात्मकरुपमा लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘भनाइ छ– एउटै घटनाले कहिलेकाहीँ इतिहासको समग्र बाटो बदल्ने सामर्थ्य राख्छ । नेपाली कूटनीतिक इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीको यो चीन भ्रमण त्यस्तै पानी ढलो बन्नेछ, सकारात्मक अर्थमा ! त्यसका अनेक संकेत छन्, पहिल्याउन सक्नुपर्छ । सवाल हाम्रो आफ्नै इमानको मात्र हो ।’
नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेल भने यो ऋण कि अनुदान भन्नेमा अन्यौल भएको बताउँछन् । उनको भनाई छ, ‘यो कुटनीति नबुझ्नेका लागि मात्र है । नेपाली version of framework मा AID भनेको ‘अनुदान’ हो कि ‘सहुलियत ऋण’ हो कि दुबै हो ? The world bank लगायतमा सानो TA grant plus ठूलो soft loan: final aid हो । BRI मा के हो लौ न सबैले बुझ्ने गरि भनिदिनु होला । no loan only grant भनेका हामी अलमल।’
राजनीतिक विश्लेषक डम्बर खतिवडा चाहिँ बीआरआई परियोजनामा प्रधानमन्त्री ओलीको जिल्लामा र कांग्रेस सभापतिको जिल्लाका परियोजना समावेश गर्नु गलत भएको बताउँछन् । उनको टिप्पणी छ, ‘बीआरआई कोअपरेसनमा अमरगढी सिटीहल, दमक स्पोर्ट्स एकेडमीजस्ता योजना राख्नु देशको चरम बेइज्जती हो । १० मध्ये ५ योजना ट्रान्सहिमालयन अवधारणासँग नमिल्ने र झिनामसिना प्रकृतिका छन् । निहित राजनीतिक स्वार्थका लागि वैदेशिक सम्बन्धको समेत दुरुपयोग गर्नेहरुलाई चीनले मनमनै के ठान्यो होला ?’
उता ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल यो सम्झौता नेपाल–चीनबीचको कोसे ढुङ्गा साबित हुने टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘नेपालको राजनीतिक वृत्तमा प्रधानमन्त्री केपी शर्मा ओलीमा नायकत्व झल्कियो । अन्ततः बीआरआई परियोजनामा हस्ताक्षर । यो सम्झौता नेपाल–चीनबीचको कोसे ढुङ्गा साबित हुनेछ । यो अभूतपूर्व सफलताबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुनौलो इतिहास रचेका छन् । धेरै धेरै बधाई ।’
राजनीतिक विश्लेषक हरि रोका चाहिँ बीआरआईका सन्दर्भका सत्ता गठबन्धन चुकेको बताउँछन् । उनी भन्छन्, ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ र ‘एड असिन्टेन्स फाइनासिङ’ वाक्यको वीचमा धेरै फरक छ । ग्रान्टमात्र स्वीकार्ने हुंकार गरेको गठबन्धन घुमिफिरी बीआरआईको सहकार्य मोडल नै स्वीकारेछ । वेइजिङ पुगेर म्याउ गर्नु थियो भने….। दानपात्रमा भिख थाप्नु भन्दा सहकार्य स्वीकारेकोमा बधाइ ।’
पूर्वपराष्ट्रसचिव मधुरमण आचार्य भने सम्झौता कार्यान्वयन हुनेमा शंका गर्छन् । उनी भन्छन्, ‘कार्यान्वयन गर्नुपर्ने हैन सम्झौता जति गरे पनि भयो ! पुराना सम्झौता ज्युँका त्युँ भए झैं !!’
