पीडामा बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा, सरकारले वेवास्ता गरेको गुनासो(भिडियोसहित)

काठमाडौं । गत असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी पहिरोले ठूलो धनजनको क्षति भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ । त्यसपछि बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्यो । संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण पनि गरियो ।

जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको सरकारले गर्यो । बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुली खण्डको करिव १२ किलोमिटर सडक नै बगाएको छ भने काभ्रेको रोशीदेखि सिन्धुलीको खुर्कोटसम्मका बस्तीमा ठूलो क्षति गरेको छ ।

बिपी राजमार्ग अहिले डाइभर्सन बनाएर संचालन त गरिएको छ तर पानी पर्यो भने यो सडक जुनसुकै बेला बन्द हुने अवस्थामा छ । तर कसरी सडक पुनर्निर्माण गर्ने भन्ने निर्णयमा अझै पनि सरकार पुगेको छैन । सरकारले स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपनि पुनर्निर्माणका लागि कुनै चासो नदिएको गुनासो गरेका छन् ।

काठमाडौंबाट प्रा. डा. युवराज संग्रौला केहीदिनअघि काभ्रेको भकुण्डडेबेंसीदेखि मूलकोटसम्म पुगेका थिए । संग्रौलासमक्ष पीडितहरुले आफूहरुको माग सरकारलाई सुनाइदिन आग्रह गरेका छन् ।

संग्रौलाले आफूले देखेको कुरा यसरी प्रस्तुत गरेका छन्ः
मैले भकुण्डेदेखि मूलकोटसम्म गएर ठाउँठाउँका निरीह भएका जनतासँग् कुरा गर्दा, उनीहरुको कुराले पटक पटक घाँटीमा गाँठो पर्यो, भूकम्प भन्दा पीडादायी । भूकम्पले घर भत्काउँदा छाप्रो हालेर बाँच्न र बाली लगाएर बाँच्न सकिने रहेछ। तर बारी र खेत नै बगाएपछि के गर्ने ?

१. ३२० परिवारका घर खोला, पहिरोले लडायो । बारी र खेत खोलाले बगायो ।

२. अहिले खोलाका बगरमा बाटो छ । यो बाटो जेठसम्म चल्छ । त्यसपछि बन्द हुन्छ ।

३. अहिलेसम्म सरकारले कुनै सर्भेक्षण गरेको छैन । गृहमन्त्री हेलिकप्टरमा खुर्कोट पुगेर २० मिनेट बसेर फर्किएछन्, जनता त्यसो भन्छन् ।

४. क्रसर उद्योगले थुपारेको धुलोको पहाड बगाउँदा खोला बारी खेतमा पसेको र खानी खन्नेले खोलामा खसालेको माटो र ढुङ्गाले यो बिजोग पारेको हो र डोजरले खोतलेको पहाडले पहिरोको कहर सिर्जना गरेको जनताले देखेका छन् ।
सरकार जनताको लागि होला होइन ? शहरमा बस्नेहरुलाई यस्ता पीडा दुख्छन् ?

हेर्नुस् भिडियो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *