नारायण गाउँले ।
सोच्नुस् त, साठी–सत्तरी वर्षअघि एउटा विश्वविद्यालयलाई कीर्तिपुरमा त्यति धेरै जग्गा छुट्याउनुपर्छ भन्ने दूरदृष्टि कसरी आयो होला ? नेपालको दरबार क्षेत्रभन्दा विश्वविद्यालयको क्षेत्र ठूलो देखिन्छ । विश्वविद्यालय भनेको ‘बिल्डिङ’मात्रै होइन भन्ने त हामीले बुझेका रहेछौं नि ! आज क्रिकेटको क्षेत्रमा अलिकति भए पनि त्यसले लाज धानेको छ । स्मरण रहोस्, चितवनमा बन्दै गरेको धुर्मुस रङ्गशाला पनि यही विश्वविद्यालयको कृषि अनुसन्धानका लागि छुट्याइएको जग्गा मासेर बन्दै छ । दशरथ रङ्गशाला मात्रै नबनेको भए हाम्रो खेलकुद कहाँ हुन्थ्यो होला ?
पचास वर्षअघि बनेका सरकारी स्कुल र कलेज सम्झिनुभयो भने बिल्डिङ सानो थियो होला, तर खेलकुद र परेड खेल्नका लागि ठूला ठूला चहुर (चौर) थिए । वरपीपल, शमी, आँपका ठूला ठूला रुख थिए । युरोपमा पचास वर्षअघि विद्यालयसँग जस्तो चहुर थियो, आज पनि त्यस्तै छ । तर हामीले बिस्तारै लुछ्दै गयौं । शटर बनाएर भाड़ा लगाउने भन्दै रुख काटिए, खेल्ने चौर मासियो । आज तपाईंले पढेको स्कुल उस्तै छैन ।
प्रजातन्त्र आउनु केही वर्षअघि मात्रै खुलेको महेन्द्र संस्कृत विश्वविद्यालयसँग मात्रै १४ सय बिघा जति जग्गा थियो । धेरैले दान दिएका थिए । आज चार सय बिघा पनि छैन । माओवादीले झण्डा गाडेर जग्गा कब्जा गरेपछि आज राजनीतिक दलहरूको भोटर ब्याङ्क बनेको छ त्यो । त्रिभुवन विश्वविद्यालयको जग्गा त कति मिचिएको छ कति । दलहरू नै लागेपछि कसको के लाग्छ ? कीर्तिपुरकै जग्गा पनि सग्लो छैन । दुर्भाग्य के छ भने प्रजातन्त्र आएपछि सरकारी स्कुल–कलेजको लागि जग्गा थपिएका उदाहरण बिरलै पाइन्छ । मास्ने उदाहरण जति पनि छ ।
कहाँ खेल्ने ? कहाँ सिक्ने ? कहाँ घुम्ने ? कहाँ सास फेर्ने ? गौचरन जति सबै मासिए, लुटिए । टुँडिखेल र खुला मञ्च कब्जा भयो । भृकुटीमण्डप कब्जा छ । खोला किनार जति सुकुम्बासीका नाममा लालपूर्जा बाँडियो । बेलायतको बकिङ्घम प्यालेस वरपर खुला रूपमा हिँड्न पाइन्छ, दरबारका विशाल पार्कहरू निःशुल्क छिर्न र घुम्न पाइन्छ । हाम्रो नाममात्रको एक मुट्ठी पार्क छिर्न पनि पैसा तिर्न पर्छ । नारायणहिटी छिर्न पैसा लाग्छ । त्यहाँको खाली ठाउँमा ‘मर्निंग वाक’ गर्न सकिन्न । काठमाडौंमा ठूलो कन्सर्ट गर्नुपर्यो भने कहीँ ठाउँ छैन ।
आज निजी विद्यालय र कलेजले पैसा भएपछि सम्बन्धन पाउँछन्, अनुमति पाउँछन् । खेल्ने मैदान त छोड़म्, भूकम्प जाँदा या आगलागी हुँदा बाहिर निस्किने खुला ठाउँ पनि तीसँग छैन । न पार्किङ छ, न हरियाली छ । जबकि सरकारले खुला ठाउँबारे एउटा नीतिमात्रै बनाए पनि पुग्छ । आज विश्वविद्यालय बनाएको भए हामीले चार विघा जग्गा पनि नछुट्याउने रहेछौं । तल सटर, माथि विश्वविद्यालय ! कहाँ मैदान, कहाँ कृषि अनुसन्धान ?
आज देश क्रिकेटमय भएको छ । हिजो सपनाजस्तो लाग्ने इभेन्ट आज आफ्नै आँखा अगाडि सम्पन्न हुँदै छ । विश्वका उत्कृष्ट खेलाडी हाम्रो मैदानमा, हाम्रो स्थानीय जर्सीमा खेल्दै छन् । हिजो हाम्रो खेलाड़ीले आईपीएल खेलेर बीस लाख कमायो भनेर गफ गर्ने हामी आज तिनलाई तलब र पारिश्रमिक दिँदै छौं ! कस्तो रोमाञ्चक ! देशका मुख्य शहरमा प्याराफिट, फ्लडलाइट र अन्य सामान्य पूर्वाधारसहितको तीन वटा मात्रै स्टेडियम भइदिएको भए पनि यो क्रिकेटको माहोल र ती शहरको अर्थतन्त्र कस्तो हुँदो हो ! यो अकर्मण्यताको जिम्मा हाम्रो हो, दोष हाम्रो हो । हाम्रो पुस्ता बास्तवमैं निकम्मा र जिन्दावाद–मुर्दावादमैं तुहिएको पुस्ता बन्यो ! अबको पुस्ता पक्कै सिर्जनशील बन्नेछ ! यो क्रिकेट–उत्सवको सबैमा शुभकामना !
