त्यसोभए प्रचण्डले आफूले पहिले गरेको चीन भ्रमण गलत थियो भन्ने हो त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । चिनियाँ समकक्षी ली छ्याङले आगामी २–६ डिसेम्बरमा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् । चीनबाट निम्तो आएपनि नेपालबाट भने मिति भने तय भएको छैन । तर सरकारले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भने सुरु गरेको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् । परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।’

यसैपनि नेपालको प्रधानमन्त्रीले भारत भन्दा पहिला चीन भ्रमण गर्ने विषय चर्चाको विषय बन्ने गरेको छ । तर अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमण अर्को कारण पनि चर्चामा छ । त्यो कारण हो प्रचण्डको अभिव्यक्ति । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले केहीदिनअघि भारतीय अखबार ‘द हिन्दु’सँगको अन्तर्वार्तामा प्रधानमन्त्रीको चीन भ्रमणलाई ‘चाइना कार्ड’को रुपमा प्रयोग गरेको टिप्पणी गरेका थिए । अन्तरवार्तामा प्रचण्डले भनेका छन्, ‘केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ । तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले दुई छिमेकीसँगको सम्बन्धलाई मिलाएर जानुपर्छ भनेर निर्देशित गर्छ । उहाँले चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्छ ।’
पटक पटक मुलुकको प्रधानमन्त्री भएको व्यक्तिले यस्तो अभिव्यक्ति दिएपछि प्रचण्ड यतिबेला आलोचनाको पात्र बनेका छन् । नेकपा एमालेले त प्रचण्डलाई ‘चाइना कार्ड’ अभिव्यक्ति फिर्ता लिँदै माफी माग्न आग्रह गरेको छ ।

नेकपा एमालेका नेता डा. भीम रावलले भारतको भ्रमण नगरी नेपालका प्रधानमन्त्रीले चीन जानुहुन्न भन्ने प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । उनले भनेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ‘द हिन्दु’ पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड खेलेको’ भन्दै ‘गलत’ भन्नुभएछ । साथै अब भारतसँग सम्बन्ध ‘बिग्रिने’ र नेपालमा सीमासम्बन्धी समस्या उठ्ने भन्नुभएछ । उहाँको आशय भारतको भ्रमण नगरी नेपालका प्रधानमन्त्रीले चीन जानुहुन्न भन्ने रहेछ । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा उक्त कुरा गर्नु आपत्तिजनक छ ।’

रावलले कसैलाई सोधेर वा बक्साएर नेपालका प्रधानमन्त्री लगायतका सरकारी व्यक्तिको विदेश भ्रमण तय नहुनेसमेत उल्लेख गरेका छन् । उनी भन्छन्, ‘यस्तो गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाहीन अभिव्यक्तिको देशभक्त नेपालीले विरोध गर्नुपर्छ । प्रचण्डले उक्त भनाई फिर्ता लिनुपर्छ । प्रधानमन्त्री वा सरकारमा रहेकाहरूले देशको आवश्यकता र हितको लागि विदेश भ्रमण गर्ने हो । यही आधारमा कुन बेला कहाँ जाने भन्ने तय हुनुपर्छ । यसो गर्न जसरी छिमेकी लगायत देशका नेताहरू स्वतन्त्र छन्, नेपाल सरकार पनि स्वतन्त्र छ । कसैलाई सोधेर वा बक्साएर नेपालका प्रधानमन्त्री लगायतका सरकारी व्यक्तिको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थविपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने । पद भने सधैँ प्रधानमन्त्री र अध्यक्ष नै चाहिने ?’

अधिकारकर्मी गौरी प्रधानले प्रचण्डको अभिव्यक्ति बिलकुलै दोहोरो मापदण्डमा आधारित भएको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘पूर्व प्रधानमन्त्री प्रचण्डले वर्तमान प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे जुन टिप्पणी गर्नु भएको छ, त्यो पढें । उहाँको त्यो टिप्पणी बिलकुलै दोहोरो मापदण्डमा आधारित छ । धेरैलाई सम्झना पनि होला, उहाँ नै नेपालको पहिलो व्यक्ति हो, जसले नेपालको प्रधानमन्त्रीको हैसियतले गर्ने विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई तोड्नु भएको थियो । सन् २००८ को अगष्ट महिनामा उहाँले त्यतिञ्जेल गर्नु भएको सो कदमको हामीहरु धेरैले स्वागत पनि गरेका थियौं । तर, आज त्यही कदम वर्तमान प्रधानमन्त्री केपी ओलीले गर्न लाग्नु भएको छ भने यहाँ ‘चाइना कार्ड’को सवाल कहाँ उठ्छ ?’

उनले यस्ता अभिव्यक्तिले नेपाली नेताहरुले आफूलाई राजनेता बन्ने अवसर गुमाउँदा रहेछन् भन्ने स्पष्ट भएको उल्लेख गरेका छन् । उनको टिप्पणी छ, ‘कि त उहाँले तत्काल आफूले त्यसबेला गरेको भ्रमण गलत थियो भन्न सक्नु पर्यो कि त यस्तो कन्फ्युज्ड कुरा गर्न छोड्नु पर्यो । यो त त्यै बेला उहाँले भन्ने गरेको फ्युजन पोलिटिक्सको निरन्तरता भए जस्तो लाग्यो, मलाइ त । त्यसैले, भनिन्छ, नेपालका नेताहरु सदैव यस्तै कारणले गर्दा देशको राजनेता बन्ने अवसर गुमाउँदा र’छन् । कृपया, हाम्रा नेताहरुमा चेतना होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *