नेताहरुले किन गर्छन् आफूलाई सिंह र बाघसँग तुलना ?

काठमाडौं । संचारकर्ममा हुँदा पनि चर्चामा, पार्टी खोलेर राजीतिमा लागेपछि झन् चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त अझै झन् चर्चामा छन् । अरुलाई चाहिँ हिरासतमा तर रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै रास्वपाले दिनहुँ प्रदर्शन गर्न थालेपछि त रवि पक्राउको विषय झनै चर्चामा छ । काठमाडौंमा पक्राउ गरि पोखरा लगेपछि उनको दलका नेता कार्यकर्ताले दिनहुँ पोखरामा प्रदर्शन गर्दै आएकामा बुटवलमा बयानका लागि लगेपछि त्यो प्रदर्शन उता सरेको छ । बुटवलबाट उनलाई पोखरा ल्याइएपछि त्यो विरोध प्रदर्शन अब पोखरामा सुरु हुनेछ । गत मंगलबार बुटवलमा सरकारी वकिल कार्यालयमा बयान दिएर बाहिर निस्कने क्रममा रविले आफूलाई बाघसँग तुलना गर्दै बाघलाई खोरमा थुनेर स्याल नहुने अभिव्यक्ति दिए । उनले समर्थकलाई हात हल्लाउँदै भने, ‘बाघलाई खोरमा थुन्दैमा स्याल हुँदैन ।’

रविले यस्तो अभिव्यक्ति दिएपछि पक्ष र विपक्षमा सामाजिक संजालमा बहस भइरहेका छन् । कसैले रविले आफूलाई बाघसँग तुलना गरेको भन्दै व्यंग्य गरेका छन् भने कसैले समर्थन । नेकपा एमालेका सचिव योगेश भट्टराईले चाहिँ लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्ने भएकाले रविलाई आफूलाई सिंह भन्दा ठूलो नठान्न सुझाव दिएका छन् । उनको सुझाव छ, ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ, उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि उ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरुको अस्तित्व अस्वीकार गर्छ । लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाउँ, सिंहलाई सिंहकै रूपमा रहन दिउँ Ecosystem नबिगारौ !’

आफूलाई बाघसँग तुलना गर्ने रवि पहिलो भने होइनन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पनि आफूलाई बाघसँग तुलना गरेका दृष्टान्त छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका बेला प्रधानमन्त्री प्रचण्ड थिए । त्यसबेला प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापतिबीच पटक पटक भेटवार्ता भएका थिए । ती भेटवार्ताबारे सन्देह गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना नेता जोगाउन देउवा र प्रचण्डसँग छलफल गरेको भन्दै टिप्पणी गरिएका थिए । त्यसपछि २०८० जेठ ७ गतेको प्रतिनिधिसभा बैठकमा ओलीले भेटवार्ताबारे सन्देश गर्नु दुःखद भएको टिप्पणी गरे । सम्बोधनका क्रममा ओलीले आफूलाई बाघसँग तुलना गर्दै भनेका थिए, ‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बरु भोकै बस्छ, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।’ ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन गर्न चुनौती दिए ।

ओली र रविले आफूलाई बाघसँग तुलना गरेपनि प्रचण्डले चाहिँ आफूलाई जंगलको राजा सिंहसँग तुलना गरेका छन् । गत असोज १० गते पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले विद्यार्थीलाई सडकको बाघ र आफूलाई प्रतिनिधिसभाको सिंहको रुपमा चित्रण गरे । विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी)लाई बाघ सङ्गठनको सङ्ज्ञा दिँदै प्रचण्डले भने,’हामीलाई अहिले सङ्ख्याको बलमा सरकारबाट हटाइएको छ । तपाईहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ । हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु । दुई तिहाइलाई रक्षात्मक पोजिसनमा धकेलेका छौँ । हामी जितका पक्षमा छौँ ।’

सिंह, बाघसँग तुलना गर्नु भनेको आफू शक्तिशाली छु भन्ने हो । तर त्यो शक्ति उसले जनताका पक्षमा लगायो कि लगाएन, कि शक्तिको दुरुपयोग पो गर्यो कि भन्ने कुरा चाहिँ जनताले मूल्यांकन गर्ने हो । आफूलाई बाघ दाबी गर्ने मध्ये ओली देशको प्रधानमन्त्री छन् । उनले मुलुकको आर्थिक समृद्धि र सुशासनका लागि निष्पक्ष काम गरेर प्रमाणित गर्नुपर्ने छ ।
त्यस्तै प्रचण्ड संसदको विपक्षी दलको प्रमुख नेता हुन् । उनले सरकारलाई खबरदारी गरी विपक्षी दलको अब्बल भूमिका निर्वाह गर्नुपर्नेछ । अनि आफूलाई बाघसँग तुलना गर्ने रवि चाहिँ अहिले न्यायिक हिरासतमा छन् । उनले आफूलाई बाघ दाबी गरेपनि त्यसको परीक्षण अब न्यायालयले गर्नेछ । उनी अझ बलियो बाघ भएर आउँछन् कि स्यालमा परिणत हुन्छन् त ? त्यसका लागि भने अझै केही दिन कुर्नैपर्छ । किनकी उनीविरुद्ध अदालतमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *