काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । सेभेन डिस्ट्रिक मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे शुरु हुनेछ ।
नेपाललाई आज जित्नैपर्ने दबाब रहेको छ । आजको खेलमा नेपाललाई जितमात्र नभई फराकिलो जितको आवश्यकता रहेको छ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार जित र एक हारको नतिजा निकालेको छ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा कुवेतमाथि १ सय ८ रनको सहज जित निकालेको थियो । तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको थियो । यस्तै नेपालले पाँचौ खेलमा मंगलबार कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको थियो।
पाँच खेल खेल्दा एक हार र चार जितसहित नेपालले ८ अंक जोडेको छ। युएईले भने पाँच खेलमा सबै जित निकाल्दै १० अंक जोडेको छ ।रनरेटको आधारमासमेत युएई अगाडि रहेकाले नेपाललाई आजको खेलमा फराकिलो जित आवश्यक रहेको छ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ।